काठमाडौं । तामाङ मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले 'नेपाल तामाङ मौलिक ह्वाइला न्हान' संस्था स्थापना भएको छ । शनिवार नेपाल तामाङ घेदुङको सभाहलमा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले उक्त संस्थाको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा भाषाविद् अमृत योन्जन, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, बरिष्ठ गायक चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङ, रोज मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा, तामाङ डाजाङका अध्यक्ष तथा गायक फूलकुमार बम्जन, समाजसेवाी तथा एमाले नेता इन्द्र तामाङ, संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ तामाङ, गायक सेरप रुम्बा, ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तान, बौद्ध विकास समितिका टेकराज तामाङलगायतले तामाङ मौलिक गीतको चर्चा गर्दै नयाँ संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गायिका शशिकला मोक्तान, रन्जना मोक्तानलयायत कलाकार तथा तामाङ संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
'चरीला कमाई दोङला नाई' भन्ने गीतको मर्म र लयलाई मूल आधार बनाई तामाङको परम्परागत मौलिक गीतको संरक्षण र पुस्तान्तरण गर्ने उदेश्यले संस्थाको स्थापना गरेको गायक तथा संस्थाका उपाध्यक्ष पोङदिला च्याङबाले बताउनुभयो ।
संस्थाका एघार सदसीय कार्यसमितिमा अध्यक्ष सुनिताकुमारी तामाङ, उपाध्यक्ष पोङदिला च्याङ्बा, सचिव ज्ञानबहादुर तामाङ, कोषाध्यक्ष मिम तामाङ 'रोशीला च्याङ्बा' हुनुहुन्छ ।
सदस्यहरुमा कमानसिं तामाङ, सानु तामाङ, मसिनी घिसिङ, सानुमाया योन्जन, सपना वाइबा, अम्बर मोक्तान र राज दोङ रहनुभएको छ । त्यसैगरी संस्थाको प्रमुख सल्लाहकारमा कमानसिं दोङ रहनुभएको छ ।