नुवाकोट । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् ।
क्षेत्र नम्बर १ र क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन् । उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक वडा तहका मतदाता भेट्न थालेका हुन् ।
चुनावी प्रचार–प्रसार समितिका सदस्य मच्छिन्द्रनरसिंह प्याकुरेलका अनुसार वडा तहका कार्यकर्ता भेट्न तथा उनीहरूको आयोजनामा बस्ने संयुक्त बैठकमा सहभागी भएका हुन् ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र प्रदेससभा–२ (१) मा नेकपा (माओवादी केन्द्र)बाट रामप्रसाद ढुङ्गाना र प्रदेससभा–२ (ख)बाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) उम्मेदवार रहनुभएको छ ।
यस्तै वाम–लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ र प्रदेशसभा १ (१) माओवादी केन्द्र केन्द्रीय सदस्य राधिका तामाङ र प्रदेशसभा १ (२) बाट कांग्रेसका नुवाकोट सभापति रमेशकुमार महत उम्मेदवार रहनुभएको छ । उहाँहरु आज ककनी गाउँपालिकाका १, २ र ३ मा घरदैलोमा रहनुभएको हितबहादुर तामाङको सचिवालयले जनाएको छ।
मतदातासँग उम्मेदवार हितबहादुर तामाङ
संयुक्त गठबन्धनका उम्मेदवारको आजदेखि सुरु हुने वडा तहको ‘पाँचदलीय संयुक्त भेटघाट कार्यक्रम’ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार केसीसहित सम्बन्धित प्रदेशको निर्वाचन क्षेत्रमा पुग्दा सोही स्थानका प्रदेससभा सदस्यका उम्मेदवार सहभागी हुने कार्यक्रम तय गरिएको छ । साथमा गठबन्धन दलबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका उम्मेदवारसमेत सहभागी भएर वडा तहका पार्टी समितिका पदाधिकारी, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यस्तै नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद खतिवडा, प्रदेस (क) का केशवराज पाण्डे र प्रदेससभा (ख) का उम्मेदवार विजय लामा तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचार अभियानलाई तिव्र पारेका छन् । उनीहरु कार्यकर्ता भेटघाट तथा मतदाता भेट्न व्यस्त छन् ।