संखुवासभा ।
गएको भदौ २१ गते संखुवासभा मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ ।
प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
संखुवासभा सामूहिक हत्याकाण्डका संलग्न भएको भन्दै प्रहरीले सार्वजनिक गरेका व्यक्तिहरु । तस्वीर स्रोत : नेपाल प्रहरी
नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ ।
लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो ।
लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।
घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।
घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरिएको छ ।
हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । लोकबहादुरलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्की सहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको सामूहिक हत्या गरेको आरोप छ ।