काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव १४ मा पुगेको छ ।
नेप्सेका अनुसार कूल दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता शेयर एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४२ मूल्यमा कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक र लघुवित्त उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबारको कारोबारपछि कूल बजार पुँजीकरण २७ खर्ब ७७ अर्ब ४७ करोड १९ लाख ५७ हजार एक सय ५४ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको छ करोड ६५ लाख ६० हजार दुई सय १५ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक पाँच करोड ९२ लाख ७० हजार, शिवम् सिमेन्ट पाँच करोड १७ लाख ८४ हजार दुई सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड ३९ हजार दुई सय ९० र एभरेष्ट बैंक चार करोड ६८ लाख पाँच हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावर कम्पनी नौ, युनियन हाइड्रोपावर, आठ दशमलव ८२, माउण्टेन हाइड्रो नेपाल आठ दशमलव ७७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ६८ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, एनसिसी बैंकको ऋणपत्र तीन दशमलव ९१, सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ७३, गरिमा विकास बैंकको ऋणपत्र दुई दशमलव ५८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव २७ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले दुई दशमलव शून्य पाँच प्रतिशतले गुमाएका छन् ।