आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा 'सुबोध' सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।
बाल्यकाल
सुबोधको जन्म वि.सं. २०३७ साल चैत २० गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी वडा नम्बर ४, कुविन्डेमा भएको हो । पिता हरिप्रसाद सापकोटा र माता खिलमाया सापकोटाका माइलो सन्तानका रूपमा सुबोधको जन्म भएको हो । सुबोध हाल बलेफी गाउँपालिका वडा नम्बर २ मा अस्थायी बसोबास गर्दै आउनुभएको छ ।
त्यसो त सुबोध बाल्यकालदेखि नै तीक्ष्ण क्षमताका हुनुहुन्थ्यो । उहाँले सेतीदेवी माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ स्कुल चौताराबाट विद्यालय शिक्षा हाँसिल गर्नुभयो ।
तर, सुबोधले अध्ययनका क्रममा निकै संघर्ष गर्नुपरेको थियो । जनयुद्ध सुरु भएसँगै माओवादीका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाको परिवारका एक सदस्य भएकाले पनि तत्कालीन राज्यसत्ताले उहाँहरूलाई दिनुसम्म दुःख दियो ।
२०५२ साल माघ २० गते अर्धभूमिगत माओवादी नेताहरूलाई पक्राउ गर्न गाउँमा आएको प्रहरीलाई कुविन्डेका स्थानीयले लखेटेका थिए । त्यसबेला भाग्ने क्रममा एक प्रहरीको मृत्यु भएको थियो । सो घटनापछि सिन्धुपाल्चोकको खासगरी कुविन्डेका हरेक घरमा प्रहरीले खानतलासी गर्न थाल्यो । धरपकड गर्ने र घरै खाली गरेर सबैलाई लाइन लगाएर चौतारास्थित प्रहरी कार्यालयमा लगेर चरम यातना दिइयो । जनताको मुक्ति चाहनेहरूलाई विभिन्न मुद्दा लगाइयो सर्वसाधारण पनि तत्कालीन राज्यसत्ताको आतंकको सिकार बने । कुविण्डे त आतंकित भयो नै सँगसँगै वरपरका गाविसहरूमा पनि राज्य आतंक फैलियो । स्थानीयका अनुसार कुविण्डे र नौविसे वरपर त्यसबेलाको राज्यले चलाएको आतंक अवर्णनीय थियो ।
केन्द्रीय नेता अग्निप्रसाद सापकोटाको परिवारमा यस्तो राज्यआतंक अझ बढी थियो । यी र यस्ता चरम यातना सहँदै सुबोधले बाल्यकाल गुजार्नुभयो भने अध्ययनलाई निरन्तरता दिनुभयो । राज्य आतंकका कारण कुविण्डेमा माध्यमिक शिक्षा अध्ययन गरिरहनु भएका सुबोधलगायतलाई विद्यालय जानु र पढ्नु नै कठिन कार्य थियो ।
यसैबीच २०५२ साल फागुनमा जनयुद्ध सुरु भयो । सुबोधले विद्यालय शिक्षा पार गर्दा नगर्दै मुलुकभर जनयुद्धको रापताप परिसकेको थियो । सिन्धुपाल्चोकमा त झन् बढी थियो । नेता अग्निप्रसाद सापकोटालगायत कुविण्डे वरपरका सयौँ नेता-कार्यकर्ता पूर्ण रूपमा भूमिगत भए । त्यसपछि कुविण्डे र त्यो बाटो भएर चौतारा जाने हरेक नागरिक राज्यको निगरानीमा हुन्थे । खानतलासी र धरपकड यति धेरै थियो कि जो कोहिलाई जुनसुकै बेला पक्राउ गरेर थुन्ने वा बेपत्ता बनाउने कार्य भइरहेको थियो । विद्यालय गइरहेका माधव सापकोटाजस्ता युवाहरूलाई हरेक दिन विद्यालय जान सहज हुन्थेन । कुविण्डे र सेतीदेवी पञ्चकन्या माविमा राज्यको सोझो निगरानी थियो ।
राजनीतिक यात्रा
जहाँ दमन त्यहाँ प्रतिरोध भने जस्तै कुविण्डे र सिंगो जिल्लामा राज्य आतंकका कारण जनतामाथि चरम दमन हुन थालेपछि माओवादीका गतिविधिहरू बाक्लिएका थिए । त्यही बेला विद्यालयहरूमा संगठन विस्तारका काम भए ।
बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका सापकोटा १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल (क्रान्तिकारी) बाल इकाई समितिमा संगठित हुनुभयो । २०५२ साल भदौमा संगठनको सेतीदेवी पञ्चकन्या मावि इकाई समितिमा आबद्ध उहाँ राज्य दमनलाई चुनौती दिँदै २०५३ सालमा विद्यालय इकाई समिति अध्यक्ष हुनुभयो ।
२०५४ सालमा क्षेत्रीय समिति सदस्य हुँदै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखि जिल्ला उपाध्यक्ष हुनुभयो । २०५६ साल पुसदेखि २०५८ सम्म अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो ।
२०५७ साल तत्कालीन पूर्वी पहाडी क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बन्नुभयो ।
विद्यार्थी राजनीतिकै क्रममा २०५४ असोजमा सुबोधले पार्टी सदस्यता प्राप्त गर्नुभयो र सेल कमिटीमा संगठित हुनुभयो । २०५५ सालमा सेल सेक्रेटरी भएर पूर्णकालीन बन्नुभयो । उहाँ २०५६ साल माघदेखि पूर्णरूपमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय रूपमा लाग्नभयो ।
२०५६ चैतदेखि सिन्धुपाल्चोक र दोलखा संयुक्त जिल्लाअन्तर्गत ५ नं. एरिया समिति सदस्य भएका सापकोटा २०५७ चैतदेखि सिन्धुपाल्चोक र दोलखा विशेष जिल्ला समिति सदस्य बन्नुभयो । २०५८ माघदेखि सिन्धुपाल्चोक र दोलखा जिल्ला सचिवालय समिति सदस्य हुनुभएका उहाँले २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गर्नुभयो ।
२०६० भदौदेखि उपक्षेत्रीय ब्युरो सदस्य हुनुभएका सुबोध २०६१ देखि क्षेत्रीय ब्युरो सदस्य हुँदै २०६३ साउनदेखि पुन:सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिकामा फर्किनुभयो । विद्यार्थी राजनीतिसँगै सुबोध जनमुक्ति सेनामा पनि विशिष्ट भूमिकामा रहनुभयो । २०५८ मा तत्कालीन जनमुक्ति सेनामा स्क्वार्ड कमाण्डर बन्नुभयो । २०५९ मा प्लाटुन कमाण्डर बन्नुभएका सुबोधले २०५९ मा कम्पनी सहकमिसारको जिम्मेवारी सम्हाल्नुभयो ।
२०६१ चैतमा कम्पनी कमिसार हुनुभएका सुबोध २०६२ असारमा ११औँ बटालियन सहकमिसार बन्नुभयो । २०६४ फागुनमा १४औं बटालियन कमिसार बन्नुभएका सुबोधले जनयुद्धकालमा कुशल कमाण्डरका रूपमा ठूला युद्ध मोर्चाहरूको नेतृत्व गर्नुभयो ।
२०६३ वैशाख १० गते सिन्धुपाल्चोक सदरमुकाम चौतारामा माओवादीले गरेको आक्रमणको कमाण्डर सुबोध नै हुनुहुन्थ्यो । सो आक्रमणका क्रममा सुबोधलाई गोली लाग्यो । उहाँ गम्भीर घाइते हुनुभयो । अन्य दुई आक्रमणमा पनि उहाँ घाइते हुनुभएको थियो ।
सुबोधले २०६३ माघदेखि सिन्धुपाल्चोक जिल्लाअन्तर्गत २ नं क्षेत्रीय समिति ईञ्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । २०६५ देखि ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला सहसेक्रेटरीको भूमिका निर्वाह गर्नुभयो । उहाँ २०७१ असार ११ मा सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष हुनुभयो । २०७३ मा पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । २०७५ जेठ ३ गते पार्टी एकतापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईञ्चार्ज बन्नुभयो ।
उहाँ २०७८ देखि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईञ्चार्ज बन्नुभयो । २०७९ वैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी ईञ्चार्ज बन्नुभयो भने २०७९ असारदेखि माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईञ्चार्जको रूपमा कार्यरत हुनुहुन्छ ।
शिक्षा
त्यसो त सुबोध बाल्यकालदेखि नै तीक्ष्ण क्षमताका हुनुहुन्थ्यो । उहाँले सेतीदेवी माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ स्कुल चौताराबाट विद्यालय शिक्षा हाँसिल गर्नुभयो । तर, १० वर्षे महान् जनयुद्ध होमिएपछि उहाँले शिक्षालाई निरन्तरता दिन सक्नुभएन ।
तर, माओवादी शान्ति प्रक्रियामा आएपछि भने आफ्नो थाति रहेको पढाइलाई निरन्तरता दिनुभयो । सेना समायोजनपछि चितवनस्थित क्यान्टोन्मेन्टमा बस्नुभएका उहाँले त्यहीँ रहेको विद्यालयबाट पढाइ अघि बढाउनुभयो ।
खुला राजनीतिमा आएपछि सुबोधले प्लसटु र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभयो । हाल उहाँ राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।
परिवार
जनयुद्धकै क्रममा सहयोद्धा देवकुमारी नेपाल 'सन्ध्या'सँग सुबोधको जनवादी विवाह भएको हो । उहाँहरूका एक छोरा (सालीन सापकोटा) हुनुहुन्छ । विद्यार्थी राजनीतिमा रहँदा खरो, स्पष्ट र चलाख युवा नेताको छवि बनाउनुभएका सुबोध पार्टी केन्द्रको जिम्मेवारीमा रहेपछि बौद्धिक, तार्किक, मिलनसार एवं समन्वयकारी नेताका रूपमा परिचित हुनुहुन्छ ।
जहिल्यै जनतासँग
न्यायसंगत अडानमा निर्भिक भएर उभिने उहाँ पार्टीभित्र, विपक्षी र स्वतन्त्र अस्तित्वमा रहेकाहरूबीच पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । २०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी पहिरो, नागपुजे, खागदल लगायतकाका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति, कोभिड २०१९ को समय एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार र उपचारमा सुबोध सक्रिय बन्नुभएको थियो ।
जनताका दु:ख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय कार्यमा निरन्तरत सक्रिय रहने उहाँको व्यवहार छ । जसका कारण उहाँ जिल्लामा निकै लोकप्रिय हुनुहुन्छ । सुबोध दुई दशकयता लगातार जिल्लाका जनताका सुखदु:खमा सँगै हुनुहुन्छ । सहजै उपलब्ध हुने, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, जनताका कामका लागि पहल गर्ने उहाँको बानीले सुबोधलाई जिल्लाका नागरिकले वर्षौं अघिदेखि आफ्नो प्रिय नेताको रूपमा स्थापित गराएका छन् ।
सुबोध स्थानीय तह निर्वाचन २०७९ को जिल्लाको चुनावी कमाण्डर हुनुहुन्थ्यो । केन्द्रीय नेतृत्वसँगको नजिकको सम्बन्ध राख्न सफल उहाँ सबैका नेताका रूपमा स्थापित हुनुहुन्छ । युवा नेता माधव सापकोटा २०५२ देखि २०६२ सम्मको महान् जनयुद्धकालमा सुबोध नामले चर्चित हुनुहुन्थ्यो । शान्ति सम्झौतापछिको समयमा माधव सापकोटा सुबोधका रूपमा स्थापित उहाँ राजनीतिक परिवारमा जन्मे हुर्केका र जनयुद्धकालीन राजनीतिक भट्टीबाट खारिएका जोसिला एवं क्षमतावान नेता हुनुहुन्छ ।
उहाँलाई जिल्लामा माधव सापकोटा भन्दा सुबोध भनेर बोलाउनेको संख्या धेरै छ । जिल्लाका सर्वदलीय बैठक, विभिन्न समन्वय सम्बन्धी कार्यमा उदाहरणीय कार्य गर्न सफल सुबोधले बलेफी करिडोरको ऐतिहासिक बजार जलविरेमा रहेको जलविरे भ्याली क्याम्पस, सञ्चालक समितिको अध्यक्षका रूपमा २०७५ यता अनुकरणीय कार्य गर्नुभएको छ ।
सुबोध जिल्लाको सबै भूगोलले नजिकबाट चिनेको र भूगोलका जनताका बीचमा चिनिएका नेतामा पर्नुहुन्छ । सबै पालिका, वडा र बस्तीहरूमा पटक–पटक पुगेका नेता उहाँ सबै उमेर समूहका नागरिका प्रिय हुनुहुन्छ ।
सभामुख अग्निप्रसाद सापकोटाको २०६३ साल, २०७० साल र २०७४ सालको तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेका उहाँले २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको सिन्धुपाल्चोक क्षेत्र नं १ को कमाण्ड सम्हालेर सफलता हासिल गर्नुभयो ।
चीन, भारत, दक्षिण कोरिया, जापान, थाइल्याण्डलगायतका देशहरूको भ्रमण गर्नुभएका उहाँ पार्टीको जलस्रोत तथा ऊर्जा विभाग सदस्य भएर काम गरिरहनुभएको छ । विद्यार्थी जीवनदेखि नै कुशल संगठकका रूपमा चिनिएका सुबोध अहिले संगठन निर्माणमा अझ परिपक्व बनेको पार्टी र उहाँका समकक्षी मात्र नभएर विपक्षीले समेत स्वीकारेछ ।
नयाँ प्रविधिसँग परिचित र बदलिँदो परिवेशबारे प्रशस्त जानकारी एवं विश्लेषण क्षमता राख्ने सुबोधलाई जिल्लामा मात्रै नभएर राष्ट्रिय सञ्चार माध्यमहरूले पनि उत्तिकै पछ्याउने गर्छ । उहाँ रेडियो, टेलिभिजन, अनलाइन पोर्टलहरूमा छाइरहन्हुनुहुन्छ । फेसबुक, टिकटक, युट्युब, ट्वीटरलगायतका सामाजिक सञ्जालमा ठूलो संख्याले फलो गर्नुहुने सुबोध युवाहरूबीचमा रुचाइएका युवा नेता हुनुहुन्छ ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको सल्लाहकारका रूपमा डेढ वर्षभन्दा बढी समय विशिष्ट श्रेणीको भूमिकामा रहेर कार्य गर्नुभएका उहाँले स्थानीय सरकारको पुनर्निर्माण एवं पुनर्स्थापनामा मन्त्रालयमा बसेर सहयोग गर्नुभयो ।
२०७२ सालको भूकम्पबाट सबैभन्दा धेरै मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोकको पुनर्निर्माणले गति लिने र समयमा सम्पन्न हुनका लागि सुबोधको भूमिकाको प्रशंसा हुने गर्छ । संघीयता कार्यान्वयनका क्रममा नवगठित स्थानीय तहका कर्मचारी र निर्वाचितहरूका लागि क्षमता विकास तालिम प्रदान गर्न म्यानुअल, निर्देशिका निर्माणको काममा कुशलता हासिल गर्नुभएका सुबोधको सबै निकायसँग समन्वय, समझपूर्ण निर्णय क्षमता, विपक्षीप्रति राजनीतिक संस्कारयुक्त व्यवहारले सर्वत्र प्रिय बनाएको छ ।
सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण खुलाउन एक प्रमुख पहलकर्ताको भूमिका, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकातर्फबाट ऐतिहासिक जुगल आरोहणको टोलीका सदस्यका रूपमा सहभागी सुबोध जिल्लाको पर्यटन विकासको नीतिगत निर्णयदेखि बजेट विनियोजनसम्मका कार्यक्रममा प्रत्यक्ष जोडिएका हुनुहुन्छ । विकास निर्माण, शैक्षिक सुधार, सीप विकास, स्वरोजगार एवं रोजगारी, सामाजिक सुधारका पक्षमा स्पष्ट भिजनसहित अघि बढेका सुबोध लाभको पदमा नहुँदा समेत उहाँको योगदान प्रशंसनीय भएको जिल्लाबासी बताउनुहुन्छ । विविध सामाजिक कार्यमा सहयोग र समन्वयका लागि ठूलो संख्यामा सम्मान र प्रशंसापत्र प्रदान गरिएका सुबोध सिन्धुबासीका दुःख र अप्ठेरोका साथीका रूपमा बढी चिनिनुहुन्छ । उहाँ जिल्लाबाट काठमाडौंमा रहेर विभिन्न पेशा एवं व्यवसायमा संलग्न सिन्धुबासीसँग धेरै सम्पर्क र समन्वयमा रहेका नेतामा पर्नुहुन्छ ।
नेपाली र अंग्रेजी भाषामा पोख्त उहाँले योजना निर्माणको कुशलता, व्यवस्थित तथा विस्तृत तयारीका साथ सफल कार्यान्वयनमा आफूलाई पटक–पटक पुष्टि गरिसकेका हुनुहुन्छ । स्पष्ट अडान र भिजनसहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील उहाँलाई असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा पठाउन सिन्धुपाल्चोकले लामो तयारी गरिसकेको छ । नेता सुबोध यसपटक संघीय संसद, प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट सत्ता गठबन्धनका साझा उमेदवार हुनुहुन्छ ।
उहाँको उम्मेदवारीसँगै ‘सुबोध भए भोट हाल्छौँ’ भन्ने दशौँ हजार नागरिकको माग सम्बोधन भएको छ । सुबोधको राजनीति र समाजसेवा, जिल्लाबासी अझ निर्वाचन क्षेत्रका बासिन्दासँगको आत्मीय सम्बन्धका कारण उहाँको लोकप्रियता निकै छ ।