काठमाडौं । तामाङ मौलिक गीत, संगीतमा उदयीमान गायिका अन्जु लामा थोकर पुरस्कृत हुनुभएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गायिका लामालाई 'गोर्खा मिडिया स्रष्टा सम्मान' बाट पुरस्कृत गरिएको हो ।
गायिका लामालाई बेलायतबाट सञ्चालित गोर्खा मिडियाका सहसम्पादक, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) प्रवक्ता एवं समाजसेवी प्रकाश गुरुङले १० हजार नगद, प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सिन्धुलीको दुर्गम गाउँ सुनकोसी गाउँपालिका-७ नागीमा २०५१ सालमा जन्मनुभएका गायिका लामा करिब एक दशकदेखि तामाङ तथा सेलो गायनमा सक्रिय हुनुहुन्छ ।
उहाँले 'हिमालको चौंरी', 'मुनाल जोडी', 'जात्रा च्याला', 'आनीको छोरी', 'एला माया' (तिम्रो माया), शैक्षिक चेतनामूलक गीत, आधुनिक, काँठ क्षेत्रमा प्रचलित लोक तथा दोहोरीलगायत दर्जनौं गीत गाइसक्नुभएको छ । उहाँ मोडलिङसमेत गर्नुहुन्छ । कार्यक्रममा गोर्खा मिडियाका भिडियो सम्पादक सागर तामाङलाई पनि १० हजार राशिको पुरस्कार र नुवाकोट पञ्चकन्या ४ का कलाकार दिनेशकुमार तामाङलाई १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
उक्त पुरस्कार गत सेप्टेम्बरमा गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको थियो । दुई कलाकार र दुई कर्मचारीलाई पुरस्कार र १ जनालाई सहयोग घोषणा भएकोमा कलाकारतर्फ तनहुँका लोकगायक कृष्ण थापामगरलाई पुरस्कार हस्तान्तरण बाँकी छ ।
कर्मचारीतर्फ गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङलाई भने २५ सेप्टेम्बरकै दिन प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल र गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुँदै सहसम्पादक गुरुङले पुरस्कृत गायिका अञ्जु लामाको कलाकारितामा निरन्तरता, सागर तामाङको थप उन्नति र दिनेशकुमार तामाङको स्वास्थ्यलाभसहित सांगीतिक बाटोमा अघि बढ्न शुभकामना दिनुभयो । उहाँले आफूहरु विदेशमा रहे पनि नेपाल र नेपालीको हितमा सधैं लागिरहने बताउनुभयो ।