साउदी अरब । नेपाल तामाङ घेदुङ साउदी अरबको अध्यक्षमा रुपक वाइबा तामाङ चयन हुनुभएको छ । शुक्रबार जुम भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो ऐतिहासिक एकता (ने.ता.घे. साउदी र तामाङ एकता समाज साउदी) अधिवेशनबाट वाइबाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ अध्यक्ष सिन्धुलीका हुनुहुन्छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रामेछापका अमृत घिसिङ तामाङ, तीन उपाध्यक्षमध्ये १ जना नुवाकोटकी लक्ष्मी लोपच्न तामाङ, महासचिव सुनसरीका नगेन सिंगर तामाङ, सचिवमा काभ्रेपलाञ्चोकका सञ्जय घिसिङ तामाङ, रामेछापकी प्रमिला घिसिङ तामाङ, कोषाध्यक्षमा बाराका रोम ब्लेन्देन तामाङ र सहकोषाध्यक्षमा सुनसरीका पुरन मोक्तान तामाङ चयन हुनुभएको छ ।
सदस्यहरुमा लीला जिम्बा तामाङ, दल लोप्चन तामाङ, अनिता ब्लोन तामाङ, साजन गोले तामाङ १८ जना अधिवेशनबाट छनोट भएका छन् । बाँकी ५ सदस्य र २ उपाध्यक्ष पछि चयन गर्ने घेदुङ साउदी अरबले जनाएको छ ।
अधिवेशनबाट ३ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । जसमा सिन्धुपाल्चोकका सुप्रिम गोले तामाङ, दिलबहादुर थिङ तामाङ र विशाल बम्जन तामाङ हुनुहुन्छ ।
नेपाल तामाङ घेदुङका सहअध्यक्ष तथा प्रवास समन्वय प्रमुख कुमारसिं घिसिङको प्रमुख आतिथ्यतामा साउदीको अधिवेशन भयो । अधिवेशनमा प्रवासस्थित विभिन्न देशबाट अतिथिहरु उपस्थित थिए ।