नुवाकोट । पूर्वमन्त्री एवं नुवाकोट-१ मा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हितबहादुर तामाङले मंसिर ४ गतेको निर्वाचनका लागि माओवादी केन्द्र र नेपाली कांग्रेस एउटै डुंगामा यात्रारत रहेकोले गम्भीरताका साथ लिन निर्देशन दिनुभएको छ ।
सूर्यगढी गाउँपालिकामा शनिबार आयोजित चुनावी कार्यक्रममा पूर्वमन्त्री तामाङले भोट ट्रान्सफर नहुनेसतर्फ संकेत गर्नुहुँदै गम्भीरताका साथ लिन दुवै पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
'जित्दाखेरी सबैले जित्छ । हार्दाखेरी सबैले हार्छ । हामी एउटै डुंगामा खुट्टा हालेर हिँडेका छौं । एउटा तर्ने अर्को नतर्ने भन्ने हुँदैन,' उहाँले भन्नुभयो, 'यो कुरालाई गम्भीरताका साथ लिएर तपाईंहरुले छलफल चलाउनुहोस् ।'
उहाँले आफ्नो पार्टीभित्र समस्या भए तत्काल कारबाही गर्न तयार रहेको बताउनुभयो । 'जुन-जुन दलहरुबाट समस्या आएका छन् । माओवादी केन्द्रबाट पनि हामी रुखमा भोट हाल्दैनौं भनेको कसैले सुन्नु भाको छ भने त्यो मान्छेको नाम दिनुस् । म अहिले नै झिकाएर के कारणले नदिने ? सोध्छु,' उहाँले थप्नुभयो, 'कसैको व्यक्तिगत इच्छा र चाहनाको कुरा हो र यो । यो त राष्ट्रिय आवश्यकताले निर्धारण गरेको इस्यो हो नि गठबन्धन । नेपाली कांग्रेसका साथीहरुले कसैले गर्नुभएको छ भने यहाँहरुले छलफल चलाउनुहोस् ।'
गठबन्धन सत्ता स्वार्थमा गरेको विपक्षी दलहरुको आरोप उहाँले खण्डन गर्नुभयो । 'वाम-लोकतान्त्रिक गठबन्धन सत्ता स्वार्थका लागि होइन किनकि नेकपा माओवादी केन्द्र पहिले सरकारमा थियो नि ! केपी ओलीसँग गठबन्धन गर्दा फेरि पनि जित्थ्यो त । यो गठबन्धन हामीले चाहेर भएको पनि होइन, मुलुकको आवश्यकता हो ।'
अझ पनि मुलुकमा प्रतिगमनको खतरा नटरेको भन्नुहुँदै तामाङले ओली नेतृत्वको गठबन्धनले जितेमा फेरि प्रतिगमन हुने दाबी गर्नुभएको हो । 'नेकपा एमाले अहिले पनि प्रतिगमनकारी शक्तिसँग गठबन्धन गरेर निर्वाचनमा अगाडि बढिराखेको छ । यदि उसको गठबन्धनले जित्यो भने फेरि यो मुलुकमा हिजो जसरी संसद् विघटन भएको थियो । संविधानमाथि खतरा आइपरेको थियो । मुलुकमा शान्तिप्रक्रियालाई डिरेल गर्ने खालका जोखिम बढेको थियो । त्यस्तै हुनसक्छ । त्यसलाई परास्त गर्न हामी गठबन्धन गरेर आका छौं,' उहाँको भनाइ थियो ।