सरल सहयात्री पौडेल सिन्धुपाल्चोक क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिनुभएको छ । नेकपा (माओवादी केन्द्र) को वाग्मती प्रदेशका अध्यक्षसमेत रहेका पौडेल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।
गन्तव्य कठिन तर यात्री सरल । परिवर्तनका सम्वाहकहरुसँगको सहयात्रा । मुलुकको मुहार फेर्ने लक्ष्य । अनि त्यही लक्ष्य हासिल गर्न हिँडेका धेरै सहयात्रीहरुसँगको सहकार्य । सहयात्री र परिवारसँगको सहकार्यले दिएको संस्कार । अनि त सुरु भयो १० वर्षे अबोध बालकको क्रान्तिकारी यात्रा ।
सरल सहयात्री पौडेलको जीवनयात्राका उतार चढावहरु यहीँबाट प्रारम्भ हुन्छन् । जिन्दगीका भोगाइहरु अभिव्यक्त हुन थाल्छन् । सपना समाज परिवर्तनको । माध्यम बाल संगठन ।
आफ्नै दाइले त्यो बेलाको मानसपटलमा छोडिदिएको अमिट छाप नै जनयुद्धको एउटा होनहार सिपाही बन्ने प्रेरणा बन्यो । लडाकु शिविरमा ब्रिगेडस्तरीय विधान निर्माणको नेतृत्व र पार्टीभित्रको संस्थागत विकासका लागि गरेको अन्तरसंघर्ष नै पार्टीको प्रदेश नेतृत्वमा पुग्ने आधार बन्यो । लक्ष्यको शिखरमा पुग्ने सहिदहरुको सपनालाई मूर्तरुप दिने निरन्तरको प्रयास नै सगरमाथा आरोहणको एउटा मार्गचित्र बन्यो । सगरमाथाको शिखरमा जनमुक्ति सेनाको झन्डा फहराउनु विजयको बिम्व त थियो नै, सँगसँगै सहिदहरुको सपनालाई शिखरमा पुर्याएको सन्देश पनि ।
अनि जनयुद्ध बेलाको भोगाइ र अनुभवको कलात्मक अभिव्यक्ति नै साहित्यकारको पहिचान बन्यो ।
२०३८ असोज २१ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका सरल सहयात्रीका जिन्दगीका महत्वपूर्ण दिनहरु राज्य संयन्त्र सशस्त्र संघर्ष नगरी परिवर्तन हुँदैन भन्ने स्कुलिङबाट सुरु हुन्छन् । १८ वर्षको उमेरमै विद्यार्थी राजनीतिबाट सशस्त्र युद्धमा होमिएका सरल सहयात्री जनमुक्ति सेनाको सदस्य हुँदै ब्रिगेड कमाण्डर अनि पार्टीको सच्चा सिपाही हुँदै नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्ष बन्न सफल एक युवा हुनुहुन्छ ।
४१ वर्षको उमेरमै पार्टीको प्रदेशको नेतृत्व गर्न तयार र सफल सरल सहयात्री बोली र व्यवहारले नामजस्तै सरल र सहज हुनुहुन्छ । तर उहाँको जीवन भोगाइ भने सरल छैन । तर कहिल्यै हार खानुभएन ।
जनयुद्धका बेला ४ दर्जन भिडन्तमा सहभागी हुनुभयो । कतै हार्नुभयो, कतै हराउनुभयो । तर आफ्नो मनलाई कहिल्यै हराउनु भएन । लडाइँका बेला शरीरमा गोली लाग्यो । घाइते हुनुभयो । जीवन पनि जित र हारको संगम हो भनेर जिन्दगीको यात्रालाई युद्धसँग तुलना गर्नुभयो । त्यो बेला उहाँले मृत्युलाई जित्नुभयो र आज आफ्नै आँखा अगाडि लडेका सहयात्रीहरुको सपनालाई बोकेर हिँड्नुभएको छ सबैको सहयात्री बनेर । त्यो सपनालाई बिम्बका रुपमा सगरमाथाको शिखरमा पुर्याउनुभयो । अब व्यवहारमै प्रदेश हुँदै केन्द्रीय तहमा पुर्याउने योजनामा हुनुहुन्छ । जीवन भोगाइ र अनुभवकेन्द्रित उहाँको साहित्य कलात्मक अभिव्यक्ति र भावनाहरुको संगालो हो ।
जहाँ उहाँका सपना लक्ष्यमात्र होइन, मुलुकको विकास र समृद्धिको उत्कट चाहना पढ्न सकिन्छ । जिन्दगीको गोरेटोमा हिँड्दा हिँड्दै उहाँका सपनाहरु पनि नटुटेका होइनन् । परिवारमै दाइ र बहिनी सहिद भए । भाउजू घाइते भइन् । आफैले स्ट्रेचरको सहयोग लिनुपर्ने भयो । तर सरल एउटा सपना टुटेर चकनाचुर भए पनि अर्को सपना देख्ने हौसला राख्नुहुन्छ ।
२०७० सालमा संविधानसभा निर्वाचनमा पराजित भएका सरल सहयात्रीका लागि त्यो नयाँ सिकाइ र अनुभव थियो। तर उहाँको अगाडिको यात्रा फराकिलो छ। असफलता भनेकै सफलता भेटिने राजमार्ग हो भन्ने उहाँलाई थाहा छ। उहाँका आँखामा सफलताका सपनाहरु पढ्न सकिन्छन् । उहाँका अगाडि अपार सम्भावनाहरु छन् । युवा जोश जाँगर सोच अनि स्पष्ट दृष्टिकोण छ । महत्वपूर्ण सार्थक र मूल्यवान लक्ष्यको क्रमिक प्राप्तिका लागि सरलका पाइलाहरु वाग्मती प्रदेश अध्यक्षका रुपमा निरन्तर अघि बढिरहनुभएको छ ।
पार्टी सञ्चालन लोकतान्त्रिक विधिबाट हुनुपर्छ भन्ने मान्यता राख्ने सरलले प्रदेश कमिटी सञ्चालनका लागि पनि कार्यविधि तयार पार्नुभएको छ । पार्टी जीवनलाई जीवन्त राख्न चाहने सरल प्रदेशको विकासका लागि ५ वर्षको योजना बनाएर अघि बढ्न चाहनुहुन्छ । कृषि र रोजगारीलाई शिक्षासँग जोड्ने उहाँको योजना छ । उहाँ परम्परागत पेशामा आधारित सीपलाई बजारीकरण गर्न चाहनुहुन्छ भने श्रम बैंकको स्थापना उहाँको नयाँ सोच हो । पूर्वाधार निर्माण र पर्वतीय पर्यटनको विकासमार्फत प्रदेशको समृद्धि उहाँको सपना हो ।
नामजस्तै सरल सहयात्रीले धेरैसँग सहयात्रा गरिरहनुभएको छ । राजनीतिको मैदानदेखि सगरमाथाको चुचुरोसम्म अनि संघर्ष गरिरहनुभएको छ । पार्टी भित्रैदेखि आफ्नै भावनाहरुसँग । पार्टीभित्रको अन्तरसंघर्षले उहाँलाई अझ बलियो र पाको नेता बनायो । भावनाहरुसँगको संघर्षले एउटा ऊर्जाशील साहित्यकार बनायो ।
अनि समिता कार्कीसँगको जिन्दगीको सहकार्यले राजनीति र परिवारलाई जोड्ने मौका दियो । सरललाई थाहा छ मूल्यवान् र सार्थक वस्तु संघर्षबिना मिल्दैनन् । त्यसैले उहाँ संघर्षशील हुनुहुन्छ । राजनीतिमा युवाको खोजी भइरहेका बेला ४१ वर्षीय सरल सहयात्रीको राजनीतिक यात्रा जति उज्ज्वल छ, त्यति भरोसा गर्नलायक पनि । मात्र खाँचो छ सरल सहयात्रीको जनतासँग सहज सहयात्रा ।