काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं-७ सहित ६ क्षेत्रमा मतगणना जारी छ ।
झापा-२, कास्की-२, काठमाडौं-७, ललितपुर-२, ललितपुर-३, भक्तपुर-२मा सोमबार बिहानीपख मत गणना सुरु भएको हो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । चार स्थानमा मतगणना भइरहेको छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।
भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो । निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
जसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उहाँले जानकारी दिनुभयो । भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा (एमाले)कातर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं २ को मतगणना सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा थालिएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रको प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो । ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ ।
सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।
कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना बिहान २ बजेदेखि सुरु गरिएको हो । प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा (एमाले)का विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ ।
क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा (एमाले)का तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महतलगायत उम्मेदवारी छ भने प्रदेश सभा (२)मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरुङलगायतको उम्मेदवारी छ ।
यस्तै झापा २ मा आज बिहानदेखि मतगणना सुरु भएको छ । आज बिहान ३:३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो । क्षेत्र नं २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार सात सय २३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ४६ हजार दुई सय ५५ मत खसेको कार्यालयले जनाएको छ ।