कर्णाली,रासस । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा कर्णाली प्रदेशमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता देखिएको छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले दोब्बर मतले अग्रता कायम गर्नुभएको छ । उहाँले १४ हजार छ सय ७५ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले सात हजार आठ सय ६८ मत प्राप्त गर्दा नेकपा (एमाले)का राजेन्द्रवीर रायले चार हजार १५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । सुर्खेत क्षेत्र नं २ मा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका हृदयराम थानीले अग्रता कायमै राख्नुभएको छ ।
उहाँले २१ हजार तीन सय ४२ ल्याउनुभएको छ भने नेकपा एमालेका अमृत बिसीले १६ हजार छ सय ४५ मत प्राप्त गर्नुभएको छ । दैलेख क्षेत्र नं १ मा गठबन्धन दलका साझा उम्मेदवार अम्मरबहादुर थापाले २२ मतले अग्रता लिनुभएको छ । उहाँले छ हजार नौ सय २३ मत प्राप्त गर्दा एमालेका रवीन्द्रराज शर्माले छ हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ ।
राप्रपाका कुन्तीकुमारी शाहीले एक हजार पाँच सय आठ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले बताएको छ । दैलेख क्षेत्र नं २ मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीको अग्रता रहेको छ । जम्मा २३ हजार तीन सय ५६ मतगणना गर्दा शाहीलाई नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले पच्छयाउनुभएको छ । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाही दोब्बरभन्दा बढी मतले अग्रता लिनुभएको छ ।
प्रतिनिधिसभातर्फ १४ हजार सात सय ६९ मतगणना हुँदा राप्रपा उम्मेदवार शाहीले छ हजार छ सय ६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिनुभयो । गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले तीन हजार पाँच सय ८२, एमालेका रतननाथ योगीले एक हजार आठ सय दुई र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले चार सय ४५ मत पाउनुभएको उहाँले बताउनुभयो ।
गठबन्धन दलका साझा उम्मेदवाहरू रुकुमपश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मा, जाजरकोटमा शक्ति बस्नेत, कालीकोटमा महेन्द्रबहादुर शाहीले समेत सुरुआती मतगणनादेखि अग्रता कायम गरेका छन् । मुगुमा मतगणनाको तयारी हुँदैछ भने हुम्ला र डोल्पामा मतगणना हुनसकेको छैन ।