नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ र नेकपा एमालेका उम्मेदवार बद्री मैनालीबीच उछिनपाछिन भइरहेको छ ।
चार दिनदेखि खरानीटारमा जारी मतगणनामा कहिले हितबहादुर, कहिले बद्रीबीच अगाडि, पछाडि भइरहेको छ । अहिलेसम्म प्राय: अग्रता लिइरहेका एमाले उम्मेदवार मैनालीसँगको मतान्तर बिहीबार साढे १ बजेसम्म ६१ मा पुगेको छ । पछिल्लो मत परिणामअनुसार तामाङको १४ हजार ३० र मैनालीको १४ हजार ९१ मत रहेको छ । बुधबार मतान्तर झन्डै १३ सय पुगेको थियो ।
क्षेत्र नम्बर १ का ७ पालिकामध्ये ककनी गाउँपालिकाबाट सुरु भएको मतगणना लिखु, सूर्यगढी, पञ्चकन्या हुँदै शिवपुरी गाउँपालिका पुगेको छ । अब उक्त क्षेत्रका शिवपुरीका बाँकी वडाहरु, तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको मत गन्न बाँकी छ । दुप्चेश्वर र शिवपुरी माओवादी र कांग्रेसको पकड क्षेत्र हुन् । स्थानीय तह निर्वाचनमा शिवपुरी र तादीमा लोकप्रिय मतसहित उपाध्यक्ष माओवादीले जितेका छन् भने दुप्चेश्वरमा अध्यक्ष/उपाध्यक्ष जितेका छन् । शिवपुरी र तादी अध्यक्ष कांग्रेसका छन् ।
उक्त क्षेत्रका प्रदेशसभा १ मा राधिका तामाङ र एमाले उम्मेदवार सुशील खड्काबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । स्थलको समस्याका कारण मतदान भएको ५ दिन बितिसक्दा पनि गणना सुरु हुन सकेको छैन । तर, १ (२) मा भने मतगणना जारी छ । त्यसमा गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रमेशकुमार महतले अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेका पूर्णलाल श्रेष्ठले पछ्याइरहनुभएको छ ।
क्षेत्र नम्बर २ वाम-लोकतान्त्रिकका उम्मेदवार कांग्रेस नेता अर्जुननरसिंह केसी र एमालेबाट निवर्तमान सांसद नारायणप्रसाद खतिवडा मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । केसी १३ हजार ५२२ मतसहित अगाडि हुनुहुन्छ भने खतिवडा ८ हजार १८२ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेपनि खतिवडा सँगसँगै हुनुहुन्छ ।
२ (१) मा भने माओवादी केन्द्र वाग्मती प्रदेशको उपाध्यक्ष रामप्रसाद ढुंगाना १२ हजार ११० मतसहित निर्वाचित भइसक्नुभएको छ । उहाँले एमालेका वागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेलाई ४४९ मतान्तरले पराजित गर्नुभएको हो । पाण्डेले ११ हजार ६६१ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।