नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नुवाकोटका ६ वटै निर्वाचन क्षेत्र वाम-लोकतान्त्रिक गठबन्धनले जित निकाल्ने पक्का भएको छ । जारी मतगणनाको ताजा परिणामअनुसार प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनले जित्ने पक्का भएको हो ।
निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ जित नजिक पुग्नुभएको छ । उहाँको क्षेत्रका सात पालिकामध्ये मतगणनामा अन्तिम दुप्चेश्वरका दुई वटा वडाका मत परिणाम आउन बाँकी छ ।
ताजा परिणाममा तामाङले २५ हजार २७९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बद्री मैनालीले २२ हजार ११५ मत पाउनुभएको छ । तामाङ र मैनालीबीच ३ हजार १५४ मतान्तर देखिएको छ । क्षेत्र नम्बर १ मा आजै करिब ९ बजेसम्ममा अन्तिम परिणाम आइसक्ने अनुमान गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं २ मा जारी रहेको मतगणनामा सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २४ हजार ५४० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले १३ हजार ८३२ मत पाउनुभएको छ । तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले १२ हजार ६६२ मत पाउनुभएको छ । केसी र खतिवडाबीचको मतान्तर १० हजार ७०८ रहेको छ । यो परिणाम शुक्रबार साँझ साढे ५ बजेमसम्मको हो ।
अब १० हजार ३०७ मत गणना बाँकी रहेको नेपाली कांग्रेस नुवाकोटका निवर्तमातन सभापति जगदीशश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।
प्रदेशसभा तर्फ जारी मतगणनामा १(१) मा माओवादी उम्मेदवार राधिका तामाङले निरन्तर अग्रता लिइरहनुभएको छ । पछिल्लो परिणामअनुसार तामाङले नेकपा एमालेका उम्मेदवार सुशील खड्कालाई २ हजार ३३४ मतले पछि पार्नुभएको छ ।
शुक्रबार बेलुकसम्ममा निवर्तमान प्रदेश उपसभामुख तामाङको ९ हजार ३९९ मत रहेको छ भने खड्काले ७ हजार ६५ मत ल्याउनुभएको छ । १ (१) को शिवपुरी, तादी पछि पञ्चकन्या गाउँपालिकाको मतगणना चलिरहेको छ ।
नुवाकोट क्षेत्र २ प्रदेश २ तर्फ २० हजार ७७८ मतगणना गर्दा कांग्रेसबाट गठबन्धनका उम्मेदवार बहादुर सिंह लामा ११ हजार ४४९ मतसहित अगाडि हुनुहुन्छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका बिजय सिंह लोप्चन ६ हजार २५५ मतसहित पछ्याइरहनुभएको छ । उहाँबीचको मतान्तर ५ हजार १९४ रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपा उम्मेदवारले १ हजार ३४ मत प्राप्त गरेको छ ।
१ (२) मा गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रमेशकुमार महत र २ (१) मा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुंगाना विजयी भइसक्नुभएको छ ।