काठमाडौं । ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज झन्डै दुई घण्टा आकाशमै होल्ड भएको छ ।
८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएर बल्लतल्ल अवतरण भएको हो । बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखियो ।
काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताउनुभयो । जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।
यात्रु प्रताप लिम्बुको अनुभव
बिहान ८:५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो । त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६/७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो ।
काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाडौं आएपछि पनि ८/९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो । त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हाम्रो पाइलट एजी शेर्पा निकै अनुभवी हुनुहुन्थ्यो । जहाजमा केही जानकारी पनि दिइएन, हामीले ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं ।
एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो । त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भए पनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।