नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकाले सडक यातायातका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि १३ करोड ७७ लाख ८७ हजार बजेट विनियोजन गरेको छ ।
असार १० गते गाउँसभामा प्रस्तुत गरिएको नयाँ आबको बजेटमा गाउँपालिकाको कार्यालयलाई वडा कार्यालयहरुसँग जोड्ने तथा गाउँपालिकामा रिङरोड निर्माण गर्ने परिकल्पनाअनुरुप नयाँ सडक निर्माणको थालनी तथा पुराना सडकहरुको स्तरोन्नती गर्ने योजनास्वरुप सडक यातायातको लागि १३ करोड ७७ लाख ८७ हजार छुट्याइएको हो । साथै गाउँपालिका भित्रका प्रत्येक वडाहरुलाई १२ महिना सडक संचालन गर्न सकिने गरी सडक स्तरोन्नती गर्न, कालोपत्रे गर्ने कार्यको सुरुवात गर्न र झोलुङ्गे पुलको निर्माण कार्यक्रमलाई सम्पन्न गर्नका लागि म्याचिङ्ग फण्डमा रहेको रकमबाट माथिल्ला सरकारहरुसँग समपुरक अनुदानमा छहरे राष्ट्रिय मा.वि हुँदै गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने कार्यको लागि म्याचिङ्ग फण्डको व्यवस्था बजेटमा गरिएको छ ।
गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा भएको गाउँसभामा आगामी आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार विनियोजन गरिएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ २३ करोड १७ लाख ५९ हजार अर्थात् ५४.२९ प्रतिशत र पुँजीगततर्फ १९ करोड ५० लाख ५७ हजार रुपैयाँ अर्थात् ४५.७१ प्रतिशत रहेको बजेटमा जनाइएको छ ।
पञ्चकन्या गाउँपालिकाको अस्थायी कार्यालय रहेको पर्यटकीय क्षेत्र घलेभञ्ज्याङ । तस्बिर : ग्लोबल मिडिया
संघीय समपुरक अनुदानबाट गाउँपालिकाको अस्थायी कार्यालय रहेको पर्यटकीय क्षेत्र घलेभन्ज्याङ-गाउँपालिका केन्द्र लाकुरीभन्ज्याङ र वडा नं २ कालिकास्थान वडा कार्यालय जोड्ने सडक स्तरोन्नतीका लागि ८३/८३ लाख बजेट व्यवस्था भएको छ ।
यस्तै चार वर्षअघि गाउँपालिका स्थापनादेखिनै छहरे-घलेभन्ज्याङ जोड्ने सडक निर्माणलाई प्राथमिकता दिइएकोमा यो चाल आर्थिक वर्षमा भने कालोपत्रे हुने भएको छ । प्रदेश समपुरक कार्यक्रमबाट छहरे राष्ट्रियमावि कविलाससम्म करिब ७ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । जसका लागि प्रदेशबाट ९९ लाख ९८ हजार र गाउँपालिकाको ९९ लाख ९८ हजार नै बजेट परेको छ ।
त्यस्तै प्रदेश सरकारबाटै रोटेपानी बाहुनडाँडा क्याप्टेनडाँडा सडक स्तरोन्नती (५०/५०) लाख, छहरे आडबिसे भेँडाबारी मावि बयागाउँ कोटथोक सडक स्तरोन्नती (५०/५०) लाख र सातबिसे मंगला-टोड्केभन्ज्याङ सडक स्तरोन्नती (९९ लाख ८९ हजार/९९ लाख ८९ हजार) बजेट चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ ।
छहरे- राष्ट्रिय मावि सडक सडक खण्डको सिक्रेमा गत वर्ष निर्माण सकिएपछि ढलेको वाल । तस्बिर : ग्लोबल मिडिया
स्थानीयस्तरका सडकहरु मर्मत एवं सरसफाइका लागि गत वर्षहरुमा जस्तै १ मा १० लाख, २ मा १० लाख, ३ मा १० लाख ४ मा १३ लाख, ५ मा ११ लाख १५ हजार छुट्याइएको छ । वडा सडक सफाइमा उपभोक्ता समितिहरुले यसअघि डोजर लगाएर माटो खोर्सिने गरी बजेट सकाउने गरेको आरोप स्थानीय लगाउँदै आएको छ ।