घलेभञ्ज्याङ । नुवाकोट निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले जनताको विश्वासलाई कुठाराघात नगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित वाम-लोकतान्त्रिक गठबन्धन दलले सोमबार पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सांसद तामाङले विगतमा गल्ती नगरिएको र अब पनि किमार्थ विश्वासघात नगर्ने वचनबद्धता दोहोर्याउनुभएको हो । सांसद तामाङले बरु कुटोकोदालो गर्ने, हलो जोतेर बाँकी जीवन बिताउन आफू तयार रहेको तर जनविश्वास डगमगिन नदिने र निष्ठाको राजनीतिलाई तलमाथि हुन नदिने बताउनुभयो ।
'बरु बाँकी जीवन कुटो, कोदालो गरेर बिताउन तयार छु । हलो जोतेर बिताउन तयार छु,' उहाँले भन्नुभयो, 'तर इमान, निष्ठाको राजनीतिलाई कहिल्यै पनि मैले बिर्सने छैन । तपाईंहरुको विश्वासलाई कुठाराघात गर्ने छैन भन्ने पनि प्रतिबद्धता जनाउन चाहन्छु ।'
उहाँले अगाडि भन्नुभयो, 'म तपाईंहरुको विश्वासलाई किमार्थ घात गर्न चाहन्न । विगतमा पनि तपाईंहरुको विश्वासमाथि घात गरेँ जस्तो लागेको छैन जानीजानीकन । तपाईंहरुको वारेस प्राप्त प्रतिनिधिको हैसियतले, अख्तिायर प्राप्त प्रतिनिधि भएकोले तपाईंहरुको इच्छा, चाहनाविपरीत मैले कुनै गल्ती काम गरेजस्तो लाग्दैन । आगामी दिनमा पनि त्यो गल्ती गर्ने पक्षमा छैन ।'
एकथरी मान्छेले हितबहादुर तामाङको राजनीति सखाप नपारी आफूहरु अगाडि बढ्न नसक्ने भन्दै आक्रमण गरे पनि जनबलमा आफू निर्वाचित हुन सफल भएको उहाँले उल्लेख गर्नुभयो । 'एकथरी मान्छेहरुले मलाई कसरी देख्छन् भने यो जिल्लाको सबैभन्दा ठूलो यो मान्छेलाई नढालीकन । त्यसलाई नसिद्ध्याइकन । त्यसको राजनीनिक जीवन नमारीकन अगाडि बढ्ने बाटो देख्नै सक्दैनन् । त्यसैले जसले जे पायो त्यसैले हिर्काएको छ । अगुल्टोले पाए अगुल्टो, लट्ठीले पाए लट्ठीले हिर्काएको छ । पाएसम्म ढुंगामाटो बर्साउन खोजेको छ,' उहाँले भन्नुभयो, 'तैपनि तपाईंहरुको साथ र सहयोगले यो निर्वाचनमा पनि निर्वाचित हुन सफल भएको छु ।'
आफू सामान्य परिवारमा जन्मिएकोले सांसद, मन्त्री हुँदा कहिल्यै घमण्ड नगरेको उहाँले बताउनुभयो । 'म सामान्य किसान परिवारमा जन्मेको मान्छे । म सांसद हुँदाखेरी, मन्त्री हुँदाखेरी पनि तपाईंहरुभन्दा भिन्न नागरिक हुँ भन्ने अनुभूति हुँदैन । त्यस्तो घमण्ड मैले कहिल्यै पनि गरेजस्तो लाग्दैन,' उहाँको भनाइ थियो ।
उहाँले जनताले आफूहरुलाई जिताएपछि ठूलाठूला जिम्मेवारी थपिएको महसुस भएको बताउनुभयो । जनताको सम्मान र बधाईबाट भावुक बनेको भन्नुहुँदै सांसद तामाङले विगतका कामको समीक्षा गर्ने र भावी दिनमा कसरी काम गर्नेभन्ने सोचिरहेको बताउनुभयो ।
'जति धेरै मतदाताहरुले विश्वास गरेर हामीलाई मतदान गर्नुभयो । मेरो काँधमा ठूल्ठुला जिम्मेवारीहरु थपिँदैछन् । तपाईं आदरणीय जनसमुदाय/मतदाताहरुले जति धेरै माला लगाएर । सिन्दुर पहिर्याएर सम्मान गर्नुहुन्छ, मलाई लाग्छ मेरो काँधमा जिम्मेवारीहरु थपिने काम भइरहेको छ । म यतिखेर भावुक पनि छु । यही ठाउँमा जन्मिएको । तपाईंहरुको काखमा हुर्किएको । बाल्यकालदेखि नै तपाईंहरुसँग सहकार्य गर्दै आएको । आजसम्म आउँदा म तीनपटक प्रतिनिधिसभाको सांसद बनिसकेछु । जतिखेर दस वर्षे जनयुद्धलाई रुपान्तरण गरेर शान्तिपुर्ण आन्दोलनमा प्रवेश गरिसकेपछि एकपटक अन्तरिम व्यवस्थापिकाको सांसद भएछु । २०७४ सालको निर्वाचनमा तपाईंहरुले अमूल्य मतदान गर्नुभएर म निर्वाचित हुने अवसर प्राप्त गरेको थिएँ । अहिले तेस्रोपटक पनि तपाईंहरुकै अमूल्य मतद्वारा मैले विजय प्राप्त गरेको छु । मैले विगतको पनि समीक्षा गर्ने र भावी दिनमा आफ्नो कार्यभार कसरी सम्पन्न गर्ने भन्ने हिसाबले पनि मैले सोच्नु परेको छ,' उहाँले भन्नुभयो ।
कार्यक्रममा क्षेत्र नं १ प्रदेशसभा १ र २ बाट निर्वाचित गठबन्धन दलका राधिका तामाङ, रमेशकुमार महत, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, गठबन्धन दलका नेताहरुले बधाई र शुभकामना मन्तव्य राखेका थिए ।