घलेभञ्ज्याङ । वाग्मती प्रदेशका नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले झोले किसानलाई अनुदान नदिने नीति बनाउन संसद्मा आवाज उठाउने बताउनुभएको छ ।
गठबन्धन दलले पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङ सोमबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्नुहुँदै सांसद महतले किसानका नाममा आउने अनुदानको दुरुपयोग भइरहेकोले त्यसलाई अन्य गर्न आफूहरुले भूमिका खेल्नु बताउनुभएको हो ।
'राष्ट्रको धेरै रकम दुरुपयोग भएको छ । विशेषगरी किसानलाई आउने अनुदानहरु दुरुपयोग भएको छ । हामी प्रस्ताव गर्छौं, जुन गाउँपालिकामा सूचीकृत नभएका किसानहरु, साँच्चिकै काम नगरेका झोले किसानहरुले प्रदेशमा अनुदान पाउने, साँच्चिकै किसानहरुले केही पनि नपाउने जुन अवस्था छ । त्यसलाई अन्त्य गर्ने खालको नीति बनाउन हामी पहिलो संसद्मै आवाज उठाउने विश्वास व्यक्त गर्न चाहन्छु,' उहाँले भन्नुभयो ।
उहाँले आफूहरु जनप्रतिनिधिको निर्वाचित भएको भन्नुहुँदै माननीय हुने चाहना नभएको स्पष्ट पार्नुभयो । 'हामी जनप्रतिनिधि हौं, माननीय हुन चाहँदैनौं । हामी तपाईंहरुको प्रतिनिधिको रुपमा रहन चाहन्छौं,' उहाँले थप्नुभयो, 'नुवाकोट जिल्लामा दुई जना संघीय सांसद हुनुहुन्छ । राष्ट्रियरुपमा केही समस्या पर्यो भने उहाँहरुले त्यो आवाज उठाउनुहुनेछ । हामी चार जना गठबन्धन दलका प्रदेश सांसदहरु छौं । तपाईंहरुका दु:ख र विकासका विषयमा प्रदेशसभामा घनिभूतरुपमा आवाज उठाउनेछौं । तपाईंहरुको प्रतिनिधित्व गरेर हामी बस्नेछौं ।'
पञ्चकन्या, ककनी, नुवाकोट दरबारलगायत सम्पन्न नभएका बाटाहरु भएकोले त्यसलाई पूर्णता दिने आफूहरुको ध्याने जाने उहाँले बताउनुभयो ।