काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी दिनमा थप थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न बसेको बैठकले आम मतदाताको भावना र भरोसालाई सम्बोधन गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको हो ।
'गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौं । आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं,' बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, 'निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समीक्षाका साथ अघि बढ्ने छौं ।'
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बसेको थियो । पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जनमोर्चाका दुर्गा पौडेललगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन्