काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्षतर्फको अन्तिम परिणाम र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै प्रदेशहरुमा नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर लबिइङ थालेका छन् ।
केही हप्ता पछि नै चुनिने प्रदेश सरकारका लागि सत्ता गठबन्धनका पहिले पद प्राप्ति गरेका र केही नयाँ अनुहारले मुख्यमन्त्रीका लागि कसरत सुरु गरेका हुन् । मतपरिणामअनुसार प्रदेश १ बाहेक अन्यमा सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ ।
वाग्मती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिएको छ । प्रत्यक्षतर्फका ६६ सिटमध्ये नेपाली कांग्रेसले २५, नेकपा माओवादी केन्द्रले १४ र नेकपा एकीकृत समाजवादीले ५ सिट जितेका छन् । अर्कोतर्फ नेकपा एमालेले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट जितेका छन् । नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १–१ सिट जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन समानुपातिकबाट १२ सिट ल्याए पुग्छ ।
सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको रस्साकसी सुरु भएको छ । कांग्रेसबाट वाग्मती प्रदेश सभापति एवं पूर्वराज्यमन्त्री इन्द्र बानियाँ, पूर्व संघीय सांसद एवं नुवाकोटबाट निर्वाचित बहादुरसिंह लामालगायत मुख्यमन्त्री आकांक्षी देखिनुभएको छ ।
प्रदेशसभाको अघिल्लो कार्यकालको अन्तिमतिर सत्ता गठबन्धनबीच मुख्यमन्त्री दिने लिखित सहमति भए पनि कार्यान्वयन नभएपछि बानियाँ वञ्चित हुनुभएको थियो । तामाङ पनि केन्द्रमा टिकट नपाएपछि मुख्यमन्त्री पाउने दाउमा प्रदेश ओर्लनुभएको हो । तामाङले पार्टी केन्द्रीय कार्यसमिति सदस्य, दुई पटक संघको सांसद भएको नाताले आफू प्रदेशमा सिनियर नेता भएको तर्क गर्दै आउनुभएको छ ।
सत्ता गठबन्धनभित्रकै माओवादी केन्द्रमा भने करिब आधा दर्जन मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल, निवर्तमान प्रदेश उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र पोलिटब्युरो सदस्य प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्ष समेत रहेका नवनिर्वाचित सांसद सरल सहयात्री पौडेल, माओवादी चुनाव चिह्नबाट लडेर सिन्धुली २ (२) बाट निर्वाचित नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठदेखि वर्तमान प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानसमेत मुख्यमन्त्रीको दाबेदार देखिनुभएको छ ।
धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन खोजिरहनुभएका जमरकट्टेल उक्त क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा परेपछि मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा लड्नुभएको थियो । दुई पटक प्रदेशमन्त्री बन्नुभएका उहाँ मजदुर क्षेत्रबाट उदाउनुभएको नेता हो ।
निर्वतमान उपसभामुख तामाङ केन्द्रको राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको अनुभवी र क्षमता भएकोले मुख्यमन्त्रीमा दाबी रहेको निकटस्थहरुसँग बताउने गर्नुभएको छ । नुवाकोट क्षेत्र १ (१) बाट लगातार दुई पटक निर्वाचित राधिका तामाङलाई माओवादीभित्र र अन्य पार्टीमा समेत आगामी सभामुखको रुपमा चर्चा गर्ने गरिएको पाइन्छ । उहाँको चाहना कार्यकारी जिम्मेवारीमा भए पनि पार्टीले भूमिका दिएको अवस्थामा सभामुखको लागि पनि तयार रहेको बुझिएको छ ।
यस्तै पूर्वमन्त्री दुलाल पार्टी केन्द्रमा समेत सहज पहुँच राख्न सक्ने क्षमताका नेता हुनुहुन्छ । नेतृत्वले चाहेमा आफू मुख्यमन्त्री सम्हाल्ने मुडमा दुलाल देखिनुभएको छ । जनयुद्धको प्रत्यक्ष मोर्चाबाट आउनुभएका माओवादी वाग्मती प्रदेश अध्यक्ष पौडेलले संसदीय दलको नेता हुनुपर्ने दाबी सामाजिक सञ्जालबाटै प्रस्तुत गर्नुभएको छ । प्राय: मुख्यमन्त्री दलको नेता हुने भएकोले पौडेलले मुख्यमन्त्रीको आकांक्षी देखाउनुभएको प्रस्ट हुन्छ ।
श्रेष्ठ बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा स्वकीय सचिव भएर काम गरिसक्नुभएका र नेसपाको सहअध्यक्ष हुनुभएकोले मुख्यमन्त्री बन्ने चाहनामा देखिनुभएको छ । त्यही दाउमा प्रदेशको प्रत्यक्ष टिकट लिन सफल हुनुभएका श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराईबीच सहमति भएमा मुख्यमन्त्री पद पाउने आशमा देखिनुहुन्छ । मन्त्री तामाङ महिला र पुरानो (सिनियर) को हिसाबले आफू मुख्यमन्त्रीको हकदार रहेको भन्दै कसरत थालेको स्रोतले जनाएको छ ।