काठमाडौं । तामाङ पत्रकार संघको वेबसाइट सार्वजनिक भएको छ । संघको १९औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष रवीन्द्र तामाङबाट www.atjnepal.org.np वेबसाइट सार्वजनिक गरिएको हो । साइटमा संस्थाका गतिविधि, कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सम्पूर्ण विवरण राखिने संघले जनाएको छ ।
वेबसाइट सार्वजनिक गर्नुहुँदै संस्थापक अध्यक्ष तामाङले यो क्षण जीवनकै महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । उहाँले जीवन रहेसम्म तामाङ पत्रकार संघसँग जोडिरहने वचनबद्धता जनाउनुभयो । उहाँले तामाङ पत्रकारहरुले औपचारिक प्रकृतिका समाचारमात्रै नभई बहसमूलक र खोजमूलक पत्रकारितामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
दिवसका अवसरमा संघका अध्यक्ष सुवास योञ्जनको अध्यक्षतामा पूर्वअध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । वक्ताहरुले तामाङ पत्रकारको क्षमता वृद्धि, पेसागत सुरक्षा, स्वास्थ्य सुरक्षा तथा नयाँ, पुरानालाई उत्प्रेरणा जगाउने योजना ल्याउने विषयमा केन्द्रित हुन संघलाई सुझाव दिएका छन् ।
कार्यक्रममा अमरध्वज लामा, दीपेन्द्र लामा, जगतमान लामा दोङ, विष्णुबहादुर तामाङलगायत अग्रज र अनुजहरुको उपस्थिति रहेको छ ।
तामाङ पत्रकार संघ, नेपाल तामाङ सञ्चारकर्मीहरुको हकहित र सञ्चारमाध्यममा तामाङ समुदायको मुद्दा स्थापित गर्ने उद्देश्यका साथ २०६१ सालमा स्थापना भएको हो । तामाङ सञ्चार समूहको नामबाट सुरु भएको यो संस्थाको पछि नाम परिस्कृत गर्दै तामाङ पत्रकार संघ भएको हो । तामाङ पत्रकार संघको दुई प्रदेश कार्यसमिति, २२ जिल्ला कार्यसमिति र एक प्रवास कार्यसमिति रहेका छन् ।