काठमाडौं । तामाङ पत्रकार संघको १९ औं स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षहरूसँग अन्तरक्रिया तथा वेबसाइट सार्वजनिक समारोह सम्पन्न भएको छ ।
तामाङ पत्रकार संघका संघीय अध्यक्ष सुवास योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार संघलाई भोलिका दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा संस्थापक अध्यक्ष र पूर्वअध्यक्षहरूसँग छलफल गरिएको हो ।
दिवसको अवसरमा शुभकामना तथा सुझाव दिनुहुँदै संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङले संघको नेतृत्वमा तामाङ समुदायको हितमा सत्य र तत्थमा आधारित पत्रकारिताका साथै कार्यक्रम आउन जरुरी रहेको बताउनुभयो । तामाङ समुदायका समाचार बन्ने धेरै विषयवस्तु भएकोले सत्य र तथ्यमा आधारित समाचार आउन र संघको नेतृत्वमा बनाउन जरुरी रहेको संस्थापक अध्यक्ष तामाङको भनाइ छ ।
साथै उहाँले आफू संस्थापक भए पनि नेतृत्वमा आउने सबै पदाधिकारीहरूले सम्झिएकोमा खुशी व्यक्त गर्नुभयो । साथै तामाङ सञ्चार कोषका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोगको पनि उहाँले घोषणा गर्नुभयो ।
शरीर रहुन्जेलसम्म पनि तामाङ समुदायको हकहितमै लागिराख्ने भन्नुहुँदै उहाँले समुदायको पक्षमा राम्रो समाचार लेख्ने पत्रकारलाई वार्षिक २५ हजार पुरस्कारको पनि व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष तथा संघका सल्लाहकार अमरध्वज लामाले पत्रकारिता आदिवासी सौन्दर्यका लागि हुनुपर्ने बताउनुभयो । मिडियामा आउन नसकेको आदिवासी जनजातिका विषयवस्तुलाई तामाङ पत्रकार संघ र तामाङहरूले ल्याउन जरुरी रहेको भन्दै उहाँले तामाङ पत्रकारको व्यावसायिक वृद्धिका लागि पुरस्कार, तालिमलगायत आशा जगाउने खालका कामहरू संस्थाले गरिनु पर्ने सुझाव दिनुभयो ।
साथै उहाँले पनि तामाङ सञ्चार कोषका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष दिपेन्द्र लामाले तामाङ समुदायमा सचेतना फैल्याउने सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएको र त्यो अनुरूप लाग्न आग्रह गर्नुभयो । वाग्मती प्रदेश र एक नम्बर प्रदेशका आदिवासी जनजातिको धेरै भोट आदिवासी समुदायको हितविपरीत रहेको पार्टीमा गएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
संघीयता गणतन्त्र किन आवश्यक छ, यसको महत्व के हो, आरक्षण र समावेशी के हो र किन चाहिएको भन्ने सवालमा तामाङ समुदायका पत्रकारहरूले पत्रकारिताको माध्यमबाट आफ्नो समुदायलाई भन्न नसक्दा अहिले तामाङ समुदायको भोट नसोच्ने गरी अन्य पार्टीमा गएको तर्क गर्नुभयो ।
संघीयता, पहिचानबारेमा बोल्ने र काम गर्ने पार्टीलाई भन्दा पनि राजतन्त्र चाहने, संघीयता खारेज गर्नुपर्ने माग राख्ने पार्टीहरूलाई तामाङ समुदायको भोट गएको र यो विषयमा तामाङ पत्रकार संघ र पत्रकारहरूले आफ्नो समुदायलाई स्पष्ट पार्न जरुरी रहेको उहाँले बताउनुभयो । पूर्वअध्यक्ष तथा नेपाल तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान लामा दोङले २०५५ साल देखि नै तामाङ पत्रकारहरु संगठित हुने थालेको स्मरण गराउनुभयो ।
यहाँले तामाङ सञ्चार कोषलाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुभयो । सामुदायिक रेडियो प्रसारण संघका उपाध्यक्ष मिलन गाहा, रेडियो नमोबुद्धको स्टेशन म्यानेजर तथा प्रेस चौतारीका महासचिव हिरा लामा लगायतका व्यक्तिहरुले शुभकामना तथा सुझाव राख्नुभएको थियो ।
काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया तथा वेबसाइट सार्वजनिक समारोहमा कार्यक्रममा तामाङ पत्रकारहरु तथा विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।