भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भेटवार्ता गर्नुभएको छ ।
नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता केसीले आइतबार साँझ ओली निवास बालकोट पुगेर करिब २ घण्टा छलफल गरेको उहाँको सचिवालयले जनाएको छ । सचिवायलयका विजय ढुंगानाका अनुसार ओलीकै निमन्त्रणामा केसी बालकोट पुग्नुभएको हो ।
'समसामयिक राजनीतिक घटनाक्रम, जनजीविकाका सवाल सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्वतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबीच एकता, सहकार्य खाँचोको विषयमा उहाँहरुबीच छलफल भयो,' ढुंगानाले भन्नुभयो ।
त्यस्तै द्वन्द्वकालीन मुद्दाहरु किनारा लगाउने, चुच्ने नक्साअनुसारको भुगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरु एकमत, भ्रष्टाचारविरुद्व एक भई लड्ने, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्नेमा समेत दुवै नेताको जोड रहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारीसँगै दलहरुले नयाँ सरकार गठबन्धनका लागि आन्तरिक तयारी थालिसकेका छन् । केन्द्र र ७ वटा प्रदेश सरकार गठन पुस पहिलो हप्ताबाटै सुरु हुनेछन् । सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्रलगायतले फेरि सरकार बनाउने बल गरिरहेका छन् । तर, अहिले प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेले सुक्ष्ममा रुपमा सरकारको नेतृत्वका लागि कसरत गरेको देखिन्छ ।
संविधानको व्यवस्था अनुसार संघ सरकारमा कुनै पनि दलले नेतृत्वका लागि १३८ सांसद अर्थात् बहुमत पुर्याउनुपर्ने हुन्छ ।