काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका केन्द्रय सदस्य अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा मुख्यतय गठबन्धन दल, निर्वाचन परिणाम र संसद्को अंकगणितीय उपस्थितिको विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ ।
साथै बालाजु बाइपास-ककनी (रानीपौवा),-त्रिशूली अस्तव्यस्त रहेको पासाङ ल्हामुमार्ग छिटोभन्दा छिटो बनाउने विषय, किसानले भोग्दै आएको रासायनिक मल र कृषि बीउबिजनमा समस्यालाई मध्यनजर गरेर छिटोभन्दा छिटो समस्या समाधान गर्ने विषयहरु र जनजीविकाका सवालमा निर्वाचनको बेला जनस्तरबाट उठेका आवाजहरु सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धताका विषय छलफल भएको छ ।
यस्तै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा धारणा तय गरी र सहकार्यसहित अगाडी बढ्ने, भ्रष्टाचारविरुद्ध एक भई लड्ने प्रतिबद्वता, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष एउटै आवाज हुनुपर्ने लगायत विषयमा दुई नेताबीच छलफल भएको थियो । निर्वाचनमा विजयी बनेकाले दुई नेताबीच एक अर्कामा खुसी र बधाई साटासाट भएको थियो ।
प्रचण्ड गोरखा निर्वाचन क्षेत्र २ बाट र केसी नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको सोमबार जन्मदिन परेको त्यसका लागि समेत केसीले शुभकामना पनि ब्यक्त गर्नुभएको थियो । प्रचण्डले नुवाकोटमा गठबन्धन दलका सम्पूर्ण उम्मेदवार विजय बनेकोमा नेता केसीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
नुवाकोट १ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ, १ (१) मा राधिका तामाङ, १ (२) रमेशकुमार महत विजय बन्नुभएको छ । यस्तै २ (१) मा माओवादीका रामप्रसाद ढुंगाना र २ (२) मा कांग्रेसका बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ ।
केसीले आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।