काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनअन्तर्गत शुक्रबारदेखि बन्द सत्र सुरु हुँदै छ ।
राष्ट्रिय सम्मेलनको दोस्रो दिन मध्यान्ह १२ बजेपछि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बन्द सत्र सुरु हुने उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनु भयो । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
आजै विभिन्न नेताहरुको राजनीतिक प्रशिक्षण पनि हुने र त्यसपछि विभिन्न समूह बनाएर प्रतिवेदनउपर छलफल हुने छ । प्रत्येक समूहले एक टोली नेता छान्नेछन् र छलफलपछि हलमा टोली नेताले छलफलमा उठेको विषय राख्ने कार्यसूची रहेको उपाध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रतिवेदन पारित भएपछि नेतृत्व निर्माणको प्रक्रिया अघि बढ्ने छ ।
सम्मेलन कमलादीस्थित प्रज्ञाभवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार उद्घाट्न गर्नुभएको थियो । ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ नारा तय गरिएको सम्मेलनमा देशभरबाट ७९९ प्रतिनिधिको उपस्थिति रहेको छ ।
आगामी नेतृत्वको दौडमा को को ?
एक अध्यक्ष पदका लागि मुख्यगरी वर्तमान उपाध्यक्षद्वय सुरेन्द्र बस्नेत र पन्चा सिंहले दाबी गर्नुभएको छ । यस्तै हाल महासचिव उत्तम अधिकारी, तिलकराज भण्डारीले पनि अध्यक्ष पदमा आकांक्षा देखाउनु भएको छ ।
महासचिवको १ पदका लागि भने भने १ दर्जन बढीले आकांक्षा राखेका छन् । महासचिवमा दिपेश पुन, जीपी मैनाली, विजय गौतम, इन्द्र भुसाल, रविकिरण यादव, टुकमान महरा, मिलन महरा क्षेत्री, नरेश रेग्मी, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, प्रविना अधिकारी, केशव रावल आकांक्षी हुनुहुन्छ ।
क्रान्तिकारीको सम्मेलनबाट २५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । १ अध्यक्ष, ७ उपाध्यक्ष (जसमा ४ समावेशी, ३ खुला), १ महासचिव, २ उपमहासचिव, १३ सचिव र १ कोषाध्यक्ष सम्मेलनबाट छानिने छ । नेतृत्व सकेसम्म सहमतिका आधारमा चयन गर्ने प्रयास रहेको जनाइएको छ ।