काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रक्रिया लगभग सकिएको छ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामको विषयमा प्रतिवेदन बिहीबार बुझाउने तयारी गरेको छ । यो सँगै केन्द्रदेखि प्रदेशहरुमा नयाँ सरकार कहिले बन्ने र कुन दलको नेतृत्वमा बन्ने चासो सर्वत्र रहेको छ ।
निर्वाचन परिणाम कुनै पनि दलको बहुमत नआएकोले अब मिलीजुली सरकार बन्ने छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले नेतृत्वको गठबन्धन आन्तरिक तयारीमा जुटेका छन् । एमालेसँग निर्वाचनको तालमेलअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीको समर्थन रहेको छ । तर जसपा अध्यक्षद्वय उपेन्द्र यादव र अशोककुमार राईले अनौपचारिकरुपमा एमालेसँग टुटेको र टुट्न बाँकी रहेको परस्परविरोधी अभिव्यक्ति दिइसक्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्न मंसिर २९ बिहान १० बजेको समय लिएको बताइसक्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत दलहरुले त्रुटि सच्याएर सोमबार समानुपातिकतर्फको सूची बुझाएसँगै आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरिएको हो । आयोगबाट निर्वाचन परिणाम औपचारिकरुपमा प्राप्त गरेसँगै नयाँ सरकारको गठन प्रक्रिया सुरु गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा ७६ (८)मा ‘निर्वाचन अन्तिम परिणाम घोषणा वा प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त गर्नुपर्ने’ व्यवस्था छ । संविधानको धारा ७६ (१) मा कुनै एकै दलले बहुमत प्राप्त गरेको अवस्थामा सरकार बनाउने प्रक्रिया उल्लेख छ । तर, अहिले एउटै दलले बहुमत नल्याएकाले धारा ७६(२) अनुसार सरकार गठन प्रक्रिया सुरु हुन्छ । यसअन्तर्गत दुई वा दुईभन्दा बढी राजनीतिक दलको समर्थन प्राप्त गर्नेले सरकार गठन गर्नेसक्ने व्यवस्था छ ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा कुनै पनि प्रदेशमा एउटै राजनीतिक दलले बहुमत ल्याउन सकेका छैनन् । केन्द्रमा सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनलाई बाहिरको दलको समेत समर्थन आवश्यक छ । गठबन्धनका दलहरुले नयाँ सरकार गठन गर्ने बताए पनि पद बाँडफाँटलगायत विषयमा औपचारिक छलफल सुरु गरेका छैनन् । नयाँ निर्वाचनसँगै केन्द्र तथा प्रदेशमा सरकारको गठन, प्रतिनिधि तथा प्रदेशसभाको सभामुख तथा उपसभामुख चयन र राष्ट्रपति तथा उपराष्ट्रपति चयन हुने छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९ स्थानका साथ सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । नेकपा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १-१ स्थान प्राप्त गरेका छन् ।
सरकार गठनका लागि बहुमत सदस्य १ सय ३८ आवश्यक हुन्छ । तर, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र राजमोसहितको सत्तारुढ गठबन्धनसँग १ सय ३६ सांसद रहेका छन् । गठबन्धनलाई बहुमतका लागि २ सांसद अपुग हुन्छ ।
नेकपा एमाले, राप्रपा र जसपाको जोड्दा १०४ सांसद रहेका छन् । एमाले नेतृत्वको गठबन्धनलाई ३४ सांसदको आवश्यक देखिन्छ । पहिलो पटक आमनिर्वाचन जितेको जनमत पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । जनमतसँग ६ जना सांसद रहेका छन् ।
यस्तै २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १ सिट रहेको मजदुर किसान पार्टी र ३ सिट रहेको नागरिक उन्मुक्ति पार्टी तथा ५ जना स्वतन्त्र सांसदले कुन पक्षमा समर्थन गर्ने भन्ने निधो गरिसकेका छैनन् । ती पार्टीहरुलाई दुवै गठबन्धनले तानेर सरकार बनाउने आन्तरिक प्रयास भने गरेका छन् ।