काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन हुनुभएको छ । तर, औपचारिक घोषणा भने आइतबार दिउँसो २ बजेपछि सुरु हुने बन्द सत्रमा हुने छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास ललितपुरको खुमलटारमा भएको बैठकमा सिंहलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने समझदारी भएको अध्यक्षका अर्का दाबेदार सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । 'अध्यक्ष पञ्चा सिंहजीलाई बनाउने समझदारी भयो । तर निर्णय बन्दसत्रको हलबाट हुन्छ,' यसअघिका कमिटीका उपाध्यक्ष बस्नेले ग्लोबल मिडियासँग भन्नुभयो ।
अखिल (क्रान्तिकारी) को पदाधिकारी छनोटका लागि आफूलाई स्थायी समितिले जिम्मा तोकेपछि अध्यक्ष प्रचण्डले आइतबार बिहान विद्यार्थी नेताहरुलाई खुमलटार बोलाउनुभएको थियो । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, सिंह, विजय गौतम, तीलकराज भण्डारी र दीपक देवकोटाले आकांक्षा देखाउनुभएको थियो । अन्तिममा सिंहको नाममा सहमति भएको हो ।
असोज १४ गते सुरु क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन शनिबार नै पारित भएको थियो । अखिल क्रान्तिकारीले अब २५ सदस्यीय पदाधिकारी र १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने नीति लिएको छ । यसअघि क्रान्तिकारीको केन्द्रीय कमिटीमा २ सय ४३ जना थिए । अब अध्यक्ष १, उपाध्यक्ष ३ खुला र ४ समावेशी, महासचिव १ हुनेछन् भने २ उपमहासचिव हुनेछन् । उपत्यका विशेष प्रदेशसहित ७ प्रदेशबाट १-१ गरी ८ जना सचिव हुनेछन् । थप ५ समावेशी सचिव बनाउने अधिवेशनले पारित गरेको छ । १ कोषाध्यक्ष हुनेछ ।
उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा क-कसलाई जिम्मेवारी दिने भन्नेबारे अहिले छलफल भइरहेको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।