तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाटै राजनीतिमा सामेल हुनुभएकी सांसद सुष्पा भुजेल २०४१ मंसिर १५ गते सिन्धुलीको गोलन्जोर (साविक रतनचुरा गाविस-७) मा जन्मनुभएको हो । बुबा चन्द्रबहादुर भुजेल र आमा सीतादेवी भुजेलको कान्छी सन्तान सुष्पा नयाँखर्क माध्यमिक विद्यालयमा कक्षा ८ पूरा गरेलगत्तै २०५७ सालमा विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा आबद्ध हुनुभयो । त्यसपछि राजनीतिक कार्यक्रममा सक्रिय हुनुपर्दा उहाँले औपचारिक अध्ययनलाई अगाडि लान सक्नुभएन । झनै २०५८ देखि त उहाँ पूर्णकालीन माओवादी क्याडर बन्नुभयो । जनयुद्धको कठिन दिनलाई पार गरेर शान्ति प्रक्रियापछि २०६३ सालमा चितवनको पृथ्वी माविबाट पुनः शिक्षालाई निरन्तरता दिँदै प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नुभयो ।
राजनीति र औपचारिक शिक्षालाई सँगसँगै अघि बढाउनुभएकी सुष्पाले कक्षा ११ र १२ सिन्धुलीको पानीट्यांकी माविबाट पूरा गर्नुभयो । स्नातक भने चितवनको कलेजबाट सकाउनुभयो । राजनीतिक यात्राका क्रममा पुनः सिन्धुलीमै फर्किनु भयो । र, त्यहाँबाट नेपाली विषयमा स्नातक गर्नुभयो । साथै उहाँले सवओभरसियर पनि अध्ययन गर्ने मौका पाउनुभयो । औपचारिक शिक्षाको तिर्सना नमेटिँदा अहिले काठमाडौंको ल क्याम्पसमा अध्ययनरत हुनुहुन्छ ।
साथीलाई जीवनको अन्तिम क्षणमा पानी दिन नसक्दा
जनयुद्धकालमा उहाँले धेरै संघ संगठनमा आफ्नो भूमिका निर्वाह गर्नुभयो । विद्यार्थी संगठन, जिल्ला डिसिएम हुँदै अहिले माओवादी केन्द्रबाट वाग्मती प्रदेश सांसदसम्म बन्नुभएको छ । २०५९ सालमा पार्टीले आवश्यक ठानेर सुष्पालाई जनमुक्ति सेनाको जिम्मेवारी प्रदान गरेको थियो । उहाँ त्यो समयमा सेक्सन कमाण्डरको भूमिकामा हुनुहुन्थ्यो । सिन्धुली भिमान चौकी आक्रमणको जिम्मा उहाँको टोलीले पायो । सुष्पाको पहिलो लडाइँ थियो त्यो । त्यहाँ उहाँलाई एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउने जिम्मा थियो । सुष्पासँग प्रत्यक्ष्यरुपमा एक दर्जनभन्दा धेरै भिडन्तमा कमाण्डर भएर मोर्चा लडेको अनुभव छ ।
मकवानपुरको झुरझरेको लडाइँ बिर्सनै नसक्ने उहाँ बताउनुहुन्छ । जहाँ सहयोद्धा धेरै साथीहरुलाई गुमाउनुपरेको थियो । आफ्नै हातले लासको व्यवस्थापन गर्दै अघि बढ्नु परेको थियो । कति साथीहरुलाई जीवनको अन्तिम क्षणमा पानी माग्दासम्म दिन नपाउँदा अहिले पनि निकै भावुक बन्नुहुन्छ उहाँ । सांसद सुष्पाका अनुसार त्यो मकवानपुरको त्यो लडाइँ प्लानिङबिनाको थियो । उहाँ सम्झनुहुन्छ, ‘कमाण्डर सिन्धुलीको स्व.सिद्धार्थ तामाङ मेरो देब्रेपट्टी हुनुहुन्थ्यो, एकै पटक गोली लागेर उहाँले सहादत प्राप्त गर्नुभयो, असाध्यै ठूलो स्वरले पानीपानी भनेर चिच्याइराख्नुभएको थियो, मलाई यो कुराभन्दा पनि मन निकै गाह्रो हुन्छ, यो मेरो लागि बिर्सनै नसक्ने लडाइँ थियो ।’
‘एउटा कमाण्डर, एउटा दाई मृत्युको अन्तिम घडीमा पानी खान्छु भन्दा पनि म पानी दिन सक्ने अवस्थामा थिइनँ,' उहाँले भावुक हुँदै भन्नुभयो,'म आफै पनि कमाण्डर थिएँ । अन्तिम समयसम्म मैले लडेँ, कति लडाइँमा त टिममा महिलामात्रै थियौं, त्यो चुनौतीपूर्ण दिनहरुलाई भुल्न सक्दिनँ ।' मोर्चागत हिसाबमा त्यो लडाइँ सफल भए पनि एउटा राम्रो कमाण्डर सदाका लागि गुमाउनुपर्दाको पीडा भुल्न गाह्रो पर्ने उहाँ बताउनुहुन्छ । त्यस्तै दोलखाको थोकर्पा स्कुलमा लडाइँ जितेपछि जनमुक्ति सेनालाई स्वागत गर्ने तयारी गरिएको थियो । अग्नीप्रसाद सापकोटा (सभामुख), वर्षमान पुन (माओवादी केन्द्रका उपमहासचिव) र ओनसरी घर्तीमगर (पूर्वसभामुख) हेडक्वार्टरको सुरक्षाको जिम्मेवारी सुष्पाको टिमलाई दिइएको थियो । ‘माओवादीहरु एक्स्पोज हुँदै छ भन्ने कुराहरु थाहा पाएपछि एकैपटक ३ वटा विमानबाट आक्रमण हुँदा हामी सँगैका साथीहरु धेरै जना घाइते हुनुभएको थियो । मकवानपुरको नमुना गोलेको हातै छैन । राज्यको संयन्त्र जसरी हामीलाई सक्ने भनेर परिचालन गरिएको थियो, त्यो अनुसार चाहिँ हुन पाएन,’ उहाँ सम्झनुहुन्छ ।
विवाह भएको दुई वर्षमै श्रीमान् गुमाउनु पर्दा
विवाहको कुरा गर्दा जिन्दगीको निकै गाह्रो प्रश्न सोधिएजस्तो महसुस गर्नुभयो उहाँले । विवाह भयो तर विवाह भएको व्यक्ति अहिले उहाँको साथमा छैन । नेकपा माओवादीमा विवाहको छुट्टै सिस्टम थियो । अहिले मान्नेले मान्दै पनि आइरहेका छन् । सुष्पाको विवाह पनि पार्टीको नियमअनुसार नै भयो । विवाह हुँदा उहाँ २० वर्षको हुनुहुन्थ्यो । पार्टी संगठनमै प्रेम प्रस्ताव सिन्धुली गोलन्जोरका विजयकुमार न्यौपानेले राख्नुभयो । २०६० साल वैशाख १ गते सुष्पा र विजयबीच प्रेम प्रस्ताव स्वीकृत भएर पार्टीमा गयो । ठीक एक वर्ष २०६१ साल वैशाख ४ गते सिन्धुलीको मरिणको महेस्वत्तमा उहाँहरुले जनवादी विवाह गर्नुभयो । अन्तरजातीय विवाह भएको हुँदा पारिवारिकरुपमा सुष्पाका श्रीमान्ले छलफल गर्ने, भेटघाट गराउन लाग्नुभयो ।
न अहिलेको जस्तो फोन, आफ्ना परिवारको सहभागीबिना नै विवाह गर्दा सुष्पाले त्यो समयमा धेरै आफ्ना परिवारलाई आफन्तलाई सम्झिनुभयो । उहाँ भन्नुहुन्छ, ‘विजयजीले मलाई अभिभावकको भूमिका निभाउनुभएको थियो, अहिलेको जस्तो तामझाम, कुनै पनि थिएन न त आफ्ना आफन्तसँग फोनबाट नै कुराकानी गर्न सक्ने वातावरण थियो, सेनाकै ड्रेसमा हाम्रो विवाह भयो, त्यो कस्तो विवाह होला म अहिले सम्झन्छु, जिन्दगीमा कहिले पनि मैले आनन्द भन्ने कुराको महसुस गर्न पाइनँ ।’
दुबै जना पार्टीको जिम्मेवारीमा लागिनै राख्नुभयो । २०६३ वैशाख १० गते बिहान ४ बजेसम्म पनि लडाइँ भइरहेको थियो । दुबै जना लडाइँमै हुनुहुथ्यो । लडाइँकै क्रममा उहाँले श्रीमान्लाई गुमाउनुभयो । ३ वैशाखहरु सुष्पाको जिन्दगीको एकदमै स्ट्रगल टाइमहरु भएको सम्झनुहुन्छ । युद्ध बिरामपछि देशमा अब केही होला, सबै जना ब्यारेकमा रमाउदै जाँदा सुष्पालाई भने युद्धको अन्तिम क्षणमा श्रीमान् गुमाउँदाको पीडाले धेरै गाह्रो बनाइरह्यो । उहाँ त्यो समयमा रुँदै ब्यारेक जानुभएको सम्झनुहुन्छ । श्रीमान्को वियोगले गर्दा उहाँ लामो समयसम्म ब्यारेकमा बस्न सक्नुभएन । तनावमा जिन्दगी बिताउनुको सट्टा जनतासँग प्रत्यक्ष्य जोडिएर राजनीति गर्ने निर्णयपछि राज्यको नीतिअनुसार सेनाबाट उपदान लिनुभयो । चितवनबाट फर्केर जिल्लामा सक्रिय राजनीतिमा लाग्नुभयो ।
गैरसरकारी संघ संस्थामा आबद्धता
विशुद्ध फरक राजनीतिबाट समाजमा फेरि स्थापित हुनुपर्छ भन्ने धारणाका साथ जिल्ला फर्के पनि सुष्पालाई काम गर्न भने निकै गाह्रो भयो । उहाँप्रति समाजको दृष्टिकोण निकै फरक थियो । राजनीतिसँगै कामलाई पनि अघि बढाउने सोचले बासुदेव अधिकारी दनुवारको एउटा समाजिक संस्थामा काम गर्ने हिम्मत राख्नुभयो । तर त्यहाँ अन्तर्वार्ताको लागि उहाँले धेरै प्रश्नको सामना गर्नुपर्यो । एनजीओ/आईएनजीओप्रति फरक धारणा राखेको पार्टीको व्यक्ति पुनः कामकै लागि जाँदा 'तपाईं त बन्दुक बोकेर आउनुभएको मान्छे सामाजिक काम गर्न सक्नुहुन्छ त ?' भन्ने प्रश्नले सुष्पालाई निकै भावुक बनायो । ... र हिम्मतका साथ मलाई ३ महिनाको समय दिनुस् जिम्मेवारी पूरा गर्न नसकेको खण्डमा राजीनामा दिन्छु भन्नुभएको कुरा अहिले सम्झनुहुन्छ । यस्तो प्रश्न आउँदा मैले समानता, न्याय र वर्गको लागि लडेको लडाइँ त समाजले गलत पो बुझेको रै'छ भन्ने पनि उहाँलाई लागेको थियो । सो सामाजिक संस्थामा सुष्पालाई शिक्षा क्षेत्रमा जिम्मेवारी दिइएको थियो । ड्रपआउट बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्नुपर्ने थियो । शिक्षाको काम सकेपछि गर्भवती महिला समूहमा पनि काम गर्नुभयो । त्यो काम गदागर्दै उहाँले २०७४ को स्थानीय निर्वाचनमा गोलन्जोर गाउँपालिकाको उपाध्यक्षमा टिकट पाउनुभयो तर निर्वाचित हुन सक्नुभएन ।
संघ र प्रदेशको निर्वाचनमा पनि उहाँले पुनः समानुपातिकमा मौका पाउनुभयो तर त्यो समयमा पनि उहाँ जित्न सक्नुभएन । निर्वाचनको अनुभव भए पनि सदन छिर्ने मौका भने पाउनुभएन । पुनः एउटा गैरसरकारी संस्थासँग जोडिएर कामलाई निरन्तरता दिनुभयो । अविराम संघर्षकै कारण अहिले उहाँ वाग्मती प्रदेशको समानुपातिक प्रणालीमार्फत सांसद बन्नुभएको छ । उहाँ प्रत्येक पाइलामा सहिदसँग आफ्नो इतिहास जोडिएको हुँदा कहिल्यै पनि उहाँहरुको योगदानलाई भुल्न नहुने बताउनुहुन्छ उहाँ ।
नागरिकको आवाज सदनसमक्ष पुर्याउनुपर्छ भनेर ल्याएको व्यवस्था भएकोले आफू युवा, महिला र पछि परेको समुदाय, विदेशिएका युवाहरुको एजेन्डा उठाउनुका साथै काम गर्ने पहिलो प्रतिबद्धता उहाँको छ । नागरिकमाझ लैजाने कार्यक्रममा विज्ञ र त्यसै क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहकार्यमा अघि बढ्ने योजना पनि उहाँले बनाउनुभएको छ । संविधानलाई जसरी नागरिकमाझ कार्यान्वयन गरिनपर्थ्यो त्यो नभएको उहाँको बुझाइ छ ।
'गीता, भागवत, पुराण जसरी नै बुझ्यौं र त्यसैअनुसार एनलाईसिस गर्यौं, तर नागरिकले चाहेको कुरा यो होइन, संविधान भनेको देशको मूल कानुन हो, मूल कानुनभित्र भएका कुराहरु कार्यान्वयन भयो कि भएन, राष्ट्रिय राजनीतिसँगै आधारभूत आवश्यकतासँग जोडिने कुरा, नीति निर्माण राम्रोसँग कार्यान्वयन भए/नभएको कुरालाई मोनिटरिङ गर्ने हो,' उहाँ भन्नुहुन्छ, 'यी काम गर्न सकिँदैन भने विकास, संमृद्धि भन्ने कुरा जिरो हुन्छ ।' आफू सांसद भएपछि संविधानमा लेखिएका विषयवस्तुहरु कार्यान्वयन भयो कि भएन भनेर हेर्ने भूगोल, नागरिकको आवश्यकताअनुसार भए/नभएको बारेमा अध्ययन गरेर अघि बढ्नेमा उहाँ प्रतिबद्धता हुनुहुन्छ । उहाँले संविधानका अनावश्यक कुरालाई परिमार्जन गर्नका लागि सदनमा आवाज उठाउने पनि बताउनुभयो ।
अबको विकास भनेको बाटो, पुलपुलेसामात्रै बनाउनु नभई युवाको क्षमता विकासमा पनि लाग्नुपर्ने सांसद भुजेल बताउनुहुन्छ । युवाहरु रोगजारमुलक बन्नुपर्ने र युवा उमेरको महत्वपूर्ण समय खेर जान नहुने भन्नुहुँदै सांसद भुजेलले युवा, महिला तथा बालबालिका, पछाडि परेका र पारिएका वर्गको हितमा काम गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘उथलपुथलै हुने गरी काम गर्छु भन्न सक्दिनँ म । तर युवा, पछाडि पारिएका र परेका वर्गको हितमा काम गर्न सुरुवात गर्छु ।’ नीतिको अध्ययन गर्ने, आवश्यकलाई कार्यान्वयनको पक्षमा लैजान आग्रह गर्नुका साथै सम्बन्धित क्षेत्रका विज्ञसँगको सल्लाह, सुझाव काम गर्ने उहाँको तयारी छ । कृषिको विषयमा काम गर्ने हो भने माटो परीक्षण गरेर त्यो क्षेत्रमा कुन प्रकारका बाली लगाउन सकिन्छ भन्नेमा अध्ययन/अनुसन्धान गरेर काम अघि बढाउने उहाँले बताउनुभयो ।
समुदायसँग प्रत्येक्ष जोडिन जरुरी भएको र हरेक विषयमा काम गर्दा सम्बन्धित क्षेत्रका विज्ञसँगको छलफल तथा अनुसन्धान पछि काम गर्न सकिएको खण्डमा राम्रो हुने उहाँको बुझाइ छ । अध्ययन/अनुसन्धान गरी काम नगर्दा अहिले धेरै राजनीतिक व्यक्तिहरु फेल भएको हो कि भन्ने आफ्नो बुझाई भएकोले नागरिकको आवश्यकताअनुसारमात्रै विकासका कामलाई अघि सारिने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘पहिलाकै जसरी काम गर्ने, अब पनि नसच्चिने हो भने यो भन्दा विकराल अवस्था भोलिका दिनमा नआउला भन्न सकिन्न ।’