दोधारा चाँदनी । पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ ।
कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ ।
उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन खेतीयोग्य छ । यसमध्ये ५६ हजार छ सय दुई हेक्टरमा मात्रै खेती हुने गरेको छ । कैलालीमा ९० हजार हेक्टर जमिन खेतीयोग्य रहेकामा ८६ हजार चार सय ५० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ ।
त्यसैगरी पहाडी जिल्लामा कूल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ । यसमा ४२ हजार चार सय १३ हेक्टरमा मात्रै खेती भइरहेको निर्देशनालयले जनाएको छ । त्यसैगरी डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर कूल खेतीयोग्य जमिन रहेकामा २५ हजार पाँच सय हेक्टरमा मात्रै खेती भइरहेको छ । डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर जमिन खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती भइरहेको छ ।
बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ । त्यसैगरी खाद्यान्न अभाव हुने जिल्ला बाजुरामा २४ हजार तीन सय हेक्टर मात्रै खेतीयोग्य जमिन रहेकामा २० हजार एक सय ५५ हेक्टरमा मात्रै खेती भइरहेको छ ।
यस्तै ३४ हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती भइरहेको छ । त्यसैगरी दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकामा २२ हजार आठ सय २५ हेक्टरमा मात्रै खेती भइरहेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशको कूल खेतीयोग्य जमिनको ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा सिँचाइ सुविधा रहेको छ ।
निर्देशनालयका कृषि अर्थविज्ञ टेकेन्द्र ऐरले सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीयोग्य जग्गा बाँझो रहेको र तराईमा खण्डीकरण भइरहेको बताउनुभयो । “सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ । यी जिल्लामा खेतीयोग्य जमिन कम हँुदै जानु बिडम्वना हो ।” उहाँले यो समस्या न्यूनीकरणका लागि तीनवटै तहका सरकारले मिलेर एउटा विशेष संयन्त्र बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले बसाइँसराइका कारण तराईका जिल्लामा हरेक वर्ष ५/१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ केही ठाउँमा नदी कटानले पनि घटेको छ ।” माटो बचाउ अभियानका संयोजक हेमबावु लेखकले पहाडी क्षेत्रबाट तराईमा बसाइँसराइ गर्ने परम्पराले खेतीयोग्य जग्मा मासिन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहाडी क्षेत्रको उर्बरभूमि बाँझो छोडेर तराईमा बसाइ सरी चामल किनेर खाने परम्परा बढदै गएको छ ।”
बैतडीको पाटन बहुमुखी क्याम्पसका ग्रामीण विकासका प्राध्यापक ज्योतिप्रकाश पन्त पहाडी क्षेत्रमा जग्गा बाँझो रहने समस्या बढ्नुमा कृषिप्रति युवाको रुची नहुनु र कृषिबाट आशातीत प्रतिफल नआउनुलाई मुख्य कारण मान्नुहुन्छ । उहाँ पछिल्लो समय युवा विदेश जाने मोहका कारण पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको तर्क गर्नुहुन्छ । सरकारले पनि जग्गा धितो राखेर दिने ऋण सुविधा सहजरुपमा प्रवाह हुन नसक्दा पनि कृषक निराश भएको उहाँको भनाइ छ ।