गण्डकी,रासस । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि जारी प्रतियोगितामा सहभागी नौ जिल्लामध्ये समूह ‘क’ बाट स्याङ्जा कूल आठ अङ्कसहित समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।
सोही समूहबाट उपविजेता बन्दै कास्कीले छ अङ्कसहित अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा स्याङ्जाले कास्की, गोरखा र तनहुँलाई पराजित गरेको हो । यसैगरी समूह ‘ख’ तर्फ बागलुङ र नवलपुर एक खेल खेल्न बाँकी हुँदा नै सेमिफाइनल पुगेका छन् ।
बागलुङ र नवलपुरबीच लिगतर्फ अझै एक खेल खेल्न बाँकी छ । बागलुङले लिगतर्फको खेलमा म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै नौ अङ्कका साथ समूहको शीर्ष स्थानमा छ । नवलपुरले म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै आठ अङ्कका साथ समूहको द्वितीय स्थानमा रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले नगद दुई लाख, उपविजेताले नगद रु एक लाख, तृतीय हुने टोली ५० हजार र चौथो हुने टोलीले २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापा मगरले जानकारी दिनुभयो ।
यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एकजना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद १०÷१० हजार प्रदान गरिनेछ । नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको बचत रकमबाट महिला भलिबल खेलाडी तयार गर्न एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङबाहेक गण्डकीका नौ जिल्लाको सहभागिता छ ।