नुवाकोट । वाग्मती प्रदेशसभामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित रामप्रसाद ढुंगानाले ज्येष्ठ सदस्यको शपथग्रहण गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश उपाध्यक्षसमेत रहनुभएका ढुंगानाले पुस १३ गते जेष्ठ सदस्यको रुपमा वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष लिनुहुनेछ । लगत्तै भोलिपल्ट ज्येष्ठ सदस्य ढुंगानाले वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित १०९ जनालाई शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालय जानकारी दिएको छ ।
ढुंगानालाई साधारण जीवनशैली र उच्च राजनीतिक विचार बोकेका नेताको रुपमा पार्टीभित्र र अन्य राजनीतिककर्मीले चिन्छन् । उहाँको जीवनको लामो समयदेखि नुवाकोटका जनताका आस्था, परिवर्तन र क्रान्तिमा हिँडिरहनुभएको छ ।
उहाँ मंसिर भएको प्रदेशसभा निर्वाचन २०७९ बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा नुवाकोट २ (१) बाट प्रत्यक्षतर्फबाट निर्वाचित हुनुभएको हो । ढुंगानाले १२ हजार १ सय १० मतसहित जित हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता एवं पूर्वप्रदेशमन्त्री केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत मात्र प्राप्त गर्नुभएको थियो ।
यसैबीच, वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको नयाँ अधिवेशन नेकपा (माओवादी केन्द्र)का सांसद ढुंगानाको अध्यक्षतामा सुरु हुने भएको छ । प्रदेशसभामा निर्वाचित सांसदमध्ये उमेरको हिसाबले सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा ढुंगानाले शपथ लिने पक्का भएकोले उहाँकै अध्यक्षतामा प्रदेशसभाको दोस्रो कार्यकालको नयाँ अधिवेशन सुरु हुने भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था छ।
सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभामा निर्वाचित ढुंगानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उहाँ प्रदेशसभामा ७२ वर्षका ज्येष्ठ सदस्य हुनुहुन्छ । उहाँको जन्म विसं २००६ साल असोज २ गते भएको थियो ।
वाग्मती प्रदेश प्रदेशसभा सचिवालयद्वारा शुक्रबार आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न वाग्मती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।