लन्डन । तमुधिं यूकेले लोकप्रिय इभेन्ट गोर्खा कपको तयारी व्यापक भइरहेको जनाएको छ । तमुधिं यूके अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा आइतबार आयोजित पत्रकार सम्मेलनमा कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कपको १९ औं संस्करणको तयारी तीव्र भइरहेको जनाइएको हो । कार्यक्रम संयोजक क्याप्टेन देव घलेले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत गोर्खा कपको तयारीबारे जानकारी दिनुभएको हो । उहाँले ७१ जनाको टिमले इभेन्ट सफल बनाउन काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरी कुल ४२ टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा मेन क्याटगोरीको प्रथम विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो विजेतालाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् । ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने आयोजकले जनाएको छ । ३५ हजार पाउण्ड बढी खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा, कोभिड प्रोटोकल, शौचालय, पार्किङ आदिको भरपुर व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।
गोर्खा कपमा फुटबलबाहेक सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना(हस्तकलाका स्टल, पञ्चेबाजा आदि प्रमुख आकर्षण हुने संयोजक घलेले जनाउनुभयो ।
पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले सरकारले पनि कोभिड नियम हटाएकाले गोर्खा कप भव्य हुने आशा व्यक्त गर्नुभयो । उहाँले यस इभेन्टलाई तमुधिं यूकेको मात्र नभइ सबैको साझा मानेर कार्यक्रममा सहभागिता जनाइदिन अपिल पनि गर्नुभयो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिनुभएको थिए भने मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङले मिडियाकर्मीको स्वागत तथा परिचय गराउनुभएको थियो । स्टल कोअर्डिनेटर तथा तमुधिं यूके उपाध्यक्ष तुलाराम गुरुङले स्टल, टेन्ट लगायतबारे बताउनुभयो । सो अवसरमा टिम ‘ड्र’ पनि गरिएको थियो ।
प्रत्यक्ष र भर्चुअल गरिएको उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, पूर्वअध्यक्ष चिरन शर्मा, बाचस्पति रेग्मी, प्रकाश गुरुङ, नरेन्द्रराज नेम्वाङ, मिलन तमुलगायत विभिन्न व्यक्तिले जिज्ञासा राख्नुभएको थियो ।