काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा सांसद बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित लामाले बुधबार मकवानपुरको हेटौंडामा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको हो । लामालाई कुन्दनराज काफ्लेले प्रस्ताव गर्नुभएको छ भने उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकारले समर्थन गर्नुभएको छ ।
यस्तै कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट निर्वाचित हुनुभएको हो ।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस वाग्मती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ । दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
प्रदेशसांसद लामा नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य हुनुहुन्छ भने संघीय सांसदसमेत दुई पटक भइसक्नुभएको छ ।
पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका लामाले जित्ने नै दाबी गर्नुभएको छ । उहाँलाई पार्टीका शीर्ष नेताको समर्थन रहेको जनाइएको छ । उहाँले आफू स्वाभाविक उम्मेदवार भएको र प्रदेशको विकासको लागि आफूसँग स्पष्ट दृष्टिकोण भएको पनि बताउनुभएको छ । ‘म दुई पटक निर्वाचित केन्द्रीय सदस्य हुँ, नुवाकोटको विकासका लागि धेरै योगदान गरेको छु । अब मेरो सोच र विचारलाई प्रदेशको हितमा लगाउँछु’ उहाँले भन्नुभयो, ‘यो प्रदेशमा धेरै सम्भावना छ, के गर्दा राम्रो बनाउन सकिन्छ भन्ने मलाई राम्रो थाहा छ त्यसैले एक पटक अवसर खोजेको हुँ ।’
उहाँले आफू दलको नेता भइसकेपछि पार्टीलाई विस्तार गर्ने पनि जनाउनुभएको छ । उहाँले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोटको क्षेत्र नम्बर ३ बाट निर्वाचन जित्नुभएको थियो । उहाँ २०७४ सालमा प्रतिनिधिसभाकै समानुपातिक सांसद हुनुभयो । २०५४ सालमा मनकामना गाउँ विकास समितिका अध्यक्ष हुनुभएका उहाँ राजनीतिसँगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ ।
वाग्मती प्रदेशमा रहेका ६६ वटा क्षेत्रमा नेपाली कांग्रसले २५ स्थान जितेको छ भने १२ जना सानुपातिक सांसद पाएको छ ।
केन्द्रमा दलीय समीकरण नटुटिएको अवस्थामा वाग्मती प्रदेश मुख्यमन्त्रीको दाबेदार मानिनुहुन्थ्यो । तर, यही पुस १० गते कांग्रेस गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर सरकारको नेतृत्व लिएपछि त्यसै अनुसर वाग्मतीमा सत्ता समिकरण बन्नेछ । कांग्रेस वाग्मतीमा पनि प्रतिपक्षमा रहने सम्भावना छ ।