विराटनगर । साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाउनु भएको हो ।
मुद्दाको मंगलबार अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई तीनवर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ ।
अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको सजाय तोकिएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।
वि.स २०७४ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै साढे ३३ किलो सुन नेपाल ल्याईएको थियो । तर तस्करीको साढे ३३ किलो सुन सम्बन्धीत व्यक्तिसम्म नपुगी बिचैमा गायब भएको थियो ।
तर, भरिया सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भएको थियो । घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।