धनकुटा । सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्कको पर्याप्त बजेट अभावमा काम पूरा हुन ढिलाइ भएको छ ।
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नैपर्ने विश्वको १२औँ गन्तव्य सूचीमा राखेको यस स्थानमा आर्थिक वर्ष २०७५/७६ मा काम सुरु गरिएको थियो । साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण हुन गइरहेको उक्त पार्कमा हालसम्म प्रदेश सरकारको रु एक करोड ४४ लाख खर्च भएको छ । तर निर्माण सुरु भएको तीन वर्ष पूरा भइसक्दा पनि काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क आधा बनेर अलपत्र अवस्थामा रहेको छ ।
पार्कमा एक सभाहल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भ बनाइएको छ । स्थानीय ग्रामीण जनता माविको छ रोपनी जमिनमा पालिका र विद्यालयले यसबाट आउने आम्दानीमा साझेदार गर्नेगरी सो पार्क बन्न लागेको हो ।
जिल्लाकै एक प्रमुख पर्यटकीय क्षेत्रमा निर्माणाधीन पार्कको काम अधुरो रहँदा यस क्षेत्रको पर्यटन प्रभावित भएको विद्यालयका प्राधानाध्यापक टङ्क भुजेलले जानकारी दिनुभयो । “विश्वको घुम्नैपर्ने नाम्जेको मुख्य सूचक नै तयार नहुँदा केही खल्लो भएको छ”, प्रअ भुजेलले भन्नुभयो ।
स्थानीयस्तरमा भएको केही विवादका कारण पार्क निर्माणमा ढिलाइ भए पनि अब उक्त विवादको समधान भइसकेकाले कामले गति लिने भुजेलले जानकारी दिनुभयो । सो क्षेत्रको बृहत् विकास गर्न पार्कका लागि रु तीन करोड ७७ लाख ८७ हजारसहित अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय गरी आठ करोडको डिपिआर रहेको छ ।
पार्क निर्माणका लागिमात्र हालसम्म प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ मा ७८ लाख ८६ हजार र आव २०७७/७८ मा ६५ लाख ३० हजार खर्च भएको छ । त्यसपछि भने प्रदेश सरकारले पार्क पूरा गर्ने पर्याप्त रकम विनियोजन नगरेको गाउँपालिकाका सबइञ्जिनीयर विश्वेश्र राईले जानकारी दिनुभयो ।
आव २०७८र७९ मा रु ७५ लाखको काम हुन नसकी रकम फिर्ता गएको थियो भने चालु आव २०७९/८० मा रु १० लाख विनियोजन भएको राईले जानकारी दिनुभयो । समयमा काम पूरा गर्न पर्याप्त बजेट नआएकाले पार्क निर्माण पूरा हुन नसकेको पालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।
निर्माण पूरा भइनसकी जीर्ण देखिएको पार्कको सम्वद्र्धन गर्न तत्काल पार्क सञ्चालक समिति गठन गरेर बाँकी काम पूरा गरिने राईले जानकारी दिनुभयो । जिल्लाको क्षेत्र नं ‘१’ मा पर्ने उक्त क्षेत्रबाट प्रदेशसभामा पुनःनिर्वाचित सदस्य निरन राईले अब बाँकी काम पूरा गर्न पहल गरिने जानकारी दिनुभयो । पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारको दुई किमी दक्षिण–पूर्वमा रहेको नाम्जे गाउँ मगर संस्कृति र घरबास (होमस्टे)ले परिचित छ ।