काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक होटेल क्यासिनोमा भीषण आगलागीको कारण मृत्यु भएका झापा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सहजीकरणका लागि मुख्यसचिव लाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले शनिबार मुख्यसचिव लाई मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको उहाँको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले उक्त आगलागीबाट भएको मानवीय र जनधनको क्षतिको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
ग्रान्ड डायमन्ड सिटीको भवनमा बिहीबार रातिको घटनामा पाण्डेसहित २४ जनाको मृत्यु भएको थियो । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले बताउनुभएको छ ।
पाण्डेले मृत्युअघि परिवारलाई भाइबरमार्फत भिडियो कलमा आफ्नो अवस्थाबारे जानकारी गराउनुभएको थियो । आफू १२ औं तलामा रहेको र अब हाम फाल्नुको विकल्प नरहेको बताउनुभएको थियो । परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उहाँले ९ वर्षीय छोरालाई भन्नुभएको थियो, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यू । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है बाबु । आर्मन इज द बेस्ट है सानु ।’
बिर्तामोडमा रहेका हजुरबुबा–हजुरआमा र मामाघरतर्फका हजुरबा–हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उहाँले भन्नुभएको थियो, ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा–मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा– राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरूसमेत देखिएको छ । उक्त क्यासिनोमा ४ सय जना कार्यरत रहेको र त्यहाँका अधिकांश कामदार थाइल्यान्डका भएको बीबीसीले उल्लेख गरेको छ ।