काठमाडौं । प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा ९० करोड भन्दा धेरै रकम संगठिन रुपमा ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको जनाएको छ ।
सहकारीको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकका अध्यक्ष समेतरहेका इच्छाराज तामाङ, सहकारी संचालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।
यस्तै पक्राउ पर्नेहरुमा जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन र एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट २५ वर्षीय संगित श्रेष्ठ, लेखा अधिकृत ३३ वर्षीय राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने रहेका छन् ।
उक्त लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेको रकम बचत तथा मुद्दती खाताको अवधि पुगीसकेपछि खाताबाट रकम झिक्नको लागि सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिनेतर्फ आवश्यक पहल नगरेपछि बचतकर्ताहरुले प्रहरीमा उजुरी गरेपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्नेछ । इच्छाराम तामाङ ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप ऋण विभिन्न कम्पनीको नाममा लिएको बुझिएको छ ।