काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता परशुराम तामाङले नेपाली कांग्रेसले सहयात्री दलहरुलाई धोका दिँदा पाँच दलीय गठबन्धन टुटेको बताउनुभएको छ ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेता तामाङले गठबन्धन टुट्नुमा माओवादी केन्द्र जिम्मेवार नभएको दाबी गर्नुभएको हो । कांग्रेससहित पाँच दलीय गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्र प्रधानमन्त्री पद नपाएपछि नेकपा एमालेसँग सत्ता समीकरण बनाउन पुगेको छ, जसकारण सरकारको नेतृत्व उसले पाएको छ ।
नेता तामाङले माओवादी एमालेसँग मिल्नु बाध्यात्मक परिस्थिति भन्नुहुँदै गठबन्धन भत्किनुमा कांग्रेस पहिलो दोषी भएको बताउनुभयो । 'कांग्रेससँगको गठबन्धन टुट्नु माओवादी जिम्मेवार होइन । माओवादीले त राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्नका लागि जुन समय तोकेको थियो । ५ बजे सकिने हो । १ बजेसम्म सत्तासिन जुन गठबन्धन छ त्यसैबाट नै होस् भन्ने चाहेको थियो । त्यो भएन । जब धेरै लामोबहस र कसरत गर्दा पनि शेरबहादुर देउवाले राष्ट्रपति पनि प्रधानमन्त्री पनि छोडन् सकिँदैन यो अन्तिम हो भन्नुभयो,' नेता तामाङले सुनाउनुभयो,, 'त्यसो भएपछि गठबन्धन अगाडि जाने अवस्था नै बनेन । पहिलो दोषी उहाँहरु (कांग्रेस) हो । गठबन्धनका साथीहरुलाई धोका भयो ।'
उहाँले कांग्रेससँग गठबन्धन टुट्नु र एमालेसँग सत्ता समीकरणमा जोडिनु अपर्झट नभएको प्रस्ट्याउनुभयो । 'माओवादी क्याडर बेस, अनुशासित पार्टी हो । केन्द्रले जे भन्यो त्यही गर्ने भएकोले माओवादीको भोट ट्रान्सफर हुन्थ्यो । तर नेपाली कांग्रेस मास बेस पार्टी भएकोले भोट ट्रान्सफर भएन । त्यस कारणले जुन समझदारी थियो । त्यो ठ्याक्कै लागू भएन,' उहाँको भनाइ थियो, 'दोस्रो कुरा, गठबन्धनमा जुन ढंगले अगाडि जाने कुरा थियो । त्यो ढंगले नजाला/नजाला जस्तो संकेत आइरहेको थियो । कुनै पनि दलको बहुमत छैन । गठबन्धनकै पनि बहुमत आएन । यदि सरकारमै बस्ने हो भने पहिलो कार्यकाल नेतृत्व गरेर जानुपर्छ । होइन भने प्रतिपक्षमा बस्नुपर्छ भन्ने मानसिकता माओवादीमा पहिले नै बनिसकेको थियो । त्यसैले जुन किसिमले अहिले सरकारको नेतृत्व प्राप्त भयो, यो अपर्झट आइलागेको होइन ।'
पार्टीहरु सत्ताबिना टिक्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्नुहुँदै उहाँले कांग्रेसको अडानले नयाँ समीकरण बनेको पनि बताउनुभयो । 'नेपालमा कुनै पनि पार्टी सानो होस्, ठूलो होस् प्रतिपक्षमा बस्न तयार छैनन् । सत्तै चाहिन्छ,' उहाँले भन्नुभयो, 'एमालेलाई सत्ताबाहिर बसेको पीडा पनि छ । एमालेलाई नि माओवादीलाई नि सत्ता चाहिएको थियो । कांग्रेसले जब एक प्रकारले धोका दियो । त्यो पीडाबोध भइरहेको अवस्थामा कांग्रेस अडानले एक खालको राहत दियो । आशा बढायो । अब हिजो गरेको गल्ती गर्नु हुँदैन । नयाँ कोर्सबाट जानुपर्छ भन्ने महसुस भयो र यो नयाँ समीकरण बन्यो र सरकार बन्यो ।'