मान्म । कालीकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन् ।
कालीकोटमा तापक्रम माइनस पाँच डिग्री झरेको छ । चिसोले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको जनाएको छ । चिसोका कारणले पानी जम्न थालेसँगै अत्यधिक मात्रामा चिसो बढेकाले विद्यालय बन्द गर्नुको विकल्प नभएको नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले बताउनुभयो । “चिसोले गर्दा विद्यालयमा विद्यार्थी आउन पनि छाडे”, उहाँले भन्नुभयो, “विद्यालय बन्द गर्नुको विकल्प रहेन ।”
चिसो बढ्दै गएका कारण विद्यार्थीले विद्यालय जान नमानेको तिलागुफा नगरपालिका–२ फोइमहादेवका राजबहादुर बुढाले बताउनुभयो । “चिसो अत्यधिक भएकाले कक्षा ९ र १० का विद्यार्थी ट्युसन पढ्नका लागि सुर्खेत र नेपालगञ्ज झरेका छन्”, उहाँले भन्नुभयो, “आठ कक्षासम्मका विद्यार्थी चिसोका कारणले विद्यालय जान नै सकेका छैनन् ।”
चिसोका कारणले पानीको धारा जम्ने र बग्ने पानी पनि जम्न थालेको तिलागुफा नगरपालिका–४ राँचुलीका स्थानीय नरबहादुर शाहीले जानकारी दिनुभयो । “खानेपानीका धारामा पनि पानी जम्न थालेका छन्”, उहाँले भन्नुभयो, “खोला तथा नदीमा पनि चिसोका कारणले पानी जम्ने गरेको छ ।”
कालीकोटमा हुस्सु र हावा अत्यधिक चल्ने गरेकाले चिसो बढेको खाँडाचक्र नगरपालिका–२ का अनिपाल विकले जानकारी दिनुभयो । “पानी परेको छैन, हावा र हुस्सु लाग्ने हुँदा चिसो निकै बढेको छ”, उहाँले भन्नुभयो, “चिसोले यहाँको जनजीवन निकै असहज बनेको छ ।”
अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालय कालीकोटले नागरिकलाई सचेत रहन सार्वजनिक सूचना जारी गरेको छ ।