काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्ड र डा. भट्टराईबीच भेटवार्ता भएको हो ।
वार्तामा पार्टी एकता, प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा मंगलबार लिनुहुने विश्वासको मत र शक्ति बाँडफाँटमा छलफल भएकोभेटमा सहभागी नेसपा सहअध्यक्ष एवं वाग्मती प्रदेशसभा सांसद गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
भेटवार्ताबारे श्रेष्ठले भन्नुभयो, 'फास्ट ट्र्याकबाट पार्टी एकता गर्ने विषयमा छलफल भयो, 'सम्माननीय प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डज्यूले नाम पछि छलफल गर्दा हुन्छ भने आउनुस्, सल्लाह गरौं । किनकि अहिले भर्खरै नाम फेर्न सम्भव छैन । भेला बोलाउनुपर्ने हुन्छ भन्नुभयो, हामीले सल्लाह गरेर आउँछौं भन्यौं ।
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकतासम्म पुग्ने निचोडसहित मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा माओवादीको चुनाव चिह्नमा नेसपा नेताले चुनाव लडेका थिए ।
यस्तै शक्ति बाँडफाँटको विषयमा भने वाग्मती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व पाउने सम्भावना बढ्दै गएको पनि प्रचण्ड छलफलमा बताउनुभएको छ । वाग्मतीमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका लागि संसदीय दलका नेता शालिकराम जम्कट्टेल, निवर्तमान उपसभामुख राधिका तामाङ, नेसपा सहअध्यक्ष श्रेष्ठ, माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेल, निवर्तमान प्रदेशमन्त्री युवराज दुलाल, बहालवाला मन्त्री कुमारी मोक्तानलगायत दाबेदार देखिनुभएको छ ।
११० सदस्यीय प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।वाग्मतीमा २५ गतेसम्ममा सरकार गठनका लागि समय दिइएको छ ।