काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगाएको छ ।
शुक्रबार बिहान अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीहरूको नाम तय गर्नुभएको हो । जसपाका नेता पूर्णबहादुर बस्नेतले राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई सरकारमा पठाउने निर्णय भएको जानकारी दिनुभयो ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।
यस्तै माओवादीले पाउने थप ४ मन्त्रालयको पनि टुंगो लागेको छ । देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
राज्यमन्त्री बन्न लागेकी बोधमाया यादवको जिम्मेवारीको विषयमा छलफलमै रहेको माओवादी स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्मा यसअघि माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भूसाललाई ऊर्जा मन्त्रालय जिम्मेवारी दिइसकेको छ ।