काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौंबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकीकृत कारोबारको शुभारम्भको अवसरमा सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषद्को बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं ।”
दुई ठूला बैंक एकआपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यसबाट हाम्रो देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । “अहिले मर्जर लगायतका क्रियाकलापपश्चात् ठूला परियोजनामा श्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा कहिलेकाहीं देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने अपेक्षा गर्न सकिन्छ।” उहाँले भन्नुभयो, “तर यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राख्न जरुरी छ।”
बैंकिंग क्षेत्रको विस्तार र सुदृणीकरणले दिएको अवसरको सही उपयोग गर्न सकियो भने ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रलाई गति मिल्ने र आमनागरिक तथा व्यवसायहरुको उत्थानशीलता बढने उहाँले बताउनुभयो । विप्रेषणको कारोबारलाई भरपर्दो र सुरक्षित गर्न समेत बैंक क्षेत्रको ठूलो भूमिका रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले ठूला परियोजनामा मात्र नभएर नवीनतम बैंकिङ तथा वित्तीय प्रोडक्ट प्रयोग गरेर आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सरकार निजी क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताउनुभयो । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले निजी क्षेत्रमा अन्योलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै उहाँले नीजि क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धासमेत बढेकोले मर्जरमा जोड दिएको बताउनुभयो ।