काठमाडौं । आज अटोबर ८ अर्थात् विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । यो दिवस विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा प्रेरित र प्रोत्साहित गर्ने उद्देश्यले सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसकोरुपमा मनाउँदै आइरहेको छ ।
विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठनले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस आँखालाई माया गरौं भन्ने नाराका साथ अक्टोवर १४ तारिख विश्वभरिनै विश्वदृष्टि दिवस मनाइँदैछ । नेपालमा बिहीबारबाट दृष्टि दिवस शुभारम्भ भएको पत्रकार सम्मेलनमार्फत नेत्र ज्यातिसंघले जनाएको छ ।
विश्वको अवस्था
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब २२० करोड मानिसहरु दृष्टिदोष र दृष्टिविहिनताको समस्याबाट प्रभावित रहेका छन् । त्यसमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ भने करिब सय करोड जनता अझै पनि सेवाको पहुँच भन्दा बाहिर छन् । विश्वका कुल दृष्टिविहिनहरुमध्ये करिव ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन् ।
यसैगरी अनुमानित १ करोड ९० लाख बालबालिकाहरुमा दृष्टिदोषको समस्या रहेको पाइएको छ । कुल दृष्टिविहिनहरुमध्ये करिव ९० प्रतिशत दृष्टिविहिनहरु विकासशील तथा अल्पविकसित मुलुकमा रहेका छन् । ८० प्रतिशत दृष्टिदोषलाई उपचारद्वारा निवारण गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अन्धोपनका प्रमुख कारणहरुको अध्ययन गर्दा मोतीविन्दुको योगदान ६५ प्रतिशत रहेको छ भने आँखाको पर्दाजन्य रोगहरुको १४ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपन ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत र अन्य कारणबाट १० प्रतिशत मानिसहरु दृष्टिविहिन बन्न पुग्ने गरेको तथ्य रहेको छ ।
नेपालको अवस्था
नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमी आदि कारणबाट दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा विद्यमान रहेको छ । नेत्रज्याती संघको तथ्याङकमा हेर्ने हो भने नेपालमा ६ मिटरको दूरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिसहरु दृष्टिविहिन रहेका छन् भने ३ मिटरलाई आधार मान्दा अनुमानित ९३ हजार ४ सय मानिसहरु दृष्टिविहिन छन तीमध्ये ५० वर्षभन्दा माथिका मानिसहरुको संख्या अनुमानित २.५ प्रतिशत रहेको छ ।
नेपालमा कुल दृष्टिविहिनहरुमध्ये ६६ प्रतिशतको दृष्टिविहिनतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहिनता रोकथाम गर्न सकिने खालको रहेको छ ।
हालै नेपाल नेत्रज्योति संघले सबै प्रदेशमा अन्धोपन सर्भेक्षण गरे अनुसार लुम्बिनी प्रदेश बाहेक सबै प्रदेशमा अन्धोपनको समस्या घटेको जनाएको छ । संघले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।
आँखा स्वास्थ्यको क्षेत्रमा सार्वजनिक निजि साझेदारी र बहु क्षेत्रीय समन्वय मार्पmत नेपाल नेत्रज्योति संघकै नेतृत्वमा ट्रकोमा रोग निवारण गर्नमा सफलता मिलेको पजि संघको प्रमुख भूमिका रहेको थियो ।
सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपनको स्थिति रहेकोमा सन् २०११ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.३५ प्रतिशतमा झर्न पुगेको छ ।
नेपालमा उच्च तथा मध्यम स्तरको आँखा उपचार सेवाको विस्तारमा उल्लेखनीय प्रगति भए पनि प्राथमिक आँखा उपचार सेवाका क्षेत्रमा अझै पनि अपेक्षाकृत प्रगति हुन बाँकी नै छ ।
मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने खालका रोगहरुको कारण हुने अन्धोपनका साथै जलविन्दु, रेटिना सम्बन्धी समस्याहरु क्रमशः वृद्धि हुँदै गइरहेको अवस्थामा विशेष रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
न्यूनदृष्टि एवं दृष्टिविहिनहरुलाई समुदायमा आधारित दृष्टि पुनस्र्थापना सेवामा पहुँच सुनिश्चित गर्न नेपाल नेत्रज्योति संघले विशेष योजना ल्याउन लागेको पनि संघले जनाएको छ ।