हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गर्नुभएको छ ।
मंगलबार एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो । नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य, वाग्मती संसदीय दलका नेता रहनुभएका जम्कट्टेल सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
उहाँ ७० जना सांसद समर्थनसहित मुख्यमन्त्री बन्नुभएको हो । जम्कट्टेललाई माओवादी केन्द्र २१, नेकपा एमाले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी १३, नेकपा एकीकृत समाजवादी ७, हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ । हाल वाग्मती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।
गत मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा ५१ वर्षीय जमकट्टेल धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट निर्वाचित हुनुभएको थियो । विसं २०३० मा धादिङको किरानचोक गाविसमा जन्मिनुभएका जम्मकट्टेलले २०४४ साला अखिल छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरूआत गर्नुभएको हो । विसं २०४८ देखि मजदुर आन्दोलनमा सक्रिय उहाँ माओवादीले सञ्चालन गरेको सशस्त्रद्वन्द्वमा सुरुआतदेखि आबद्ध हुनुहुन्थ्यो ।
विसं २०६० देखि एक दशकसम्म माओवादीको मजदुर सङ्गठनको नेतृत्व सम्हाल्नुभएका जमकट्टेल २०६३ को अन्तरिम संसद् र २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा भएको प्रदेशसभाको निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री र पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि आर्थिक मामिलामन्त्री हुनुहुन्थ्यो ।
वाग्मती प्रदेशमा मुख्यमन्त्रीका रुपमा पहिलो कार्यकालमा डोरमणि पौडेल, दोस्रो कार्यकालमा अष्टलक्ष्मी शाक्य र निवर्तमान मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डे हुनुहुन्थ्यो ।