जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार बिहान मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बुधबार नै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
१०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुखसमेत हुनुहुन्छ ।
मधेस प्रदेशसभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् । मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।
वाग्मती प्रदेशमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनिसक्नुभएको छ ।