वाग्मती । करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले वाग्मती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार प्रदेशको राजधानी हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्तिले उदघाटन गर्नु भएको हो ।
वाग्मती प्रदेशको सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने छ । ‘नेपालमा पहिलो पटक वाग्मती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउन सक्नु गर्वको बिषय हो । अहिले १४ वटा कार्यालयको सूचना सूचना बैंकमा आउनेछ ।
वाग्मती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी बनाउन सकिनेछ । सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिनेछ’ मन्त्री शाक्यले भन्नुभयो ‘अव वाग्मती प्रदेशको सूचना पाउन कतै भौतारिनु पर्दैन,सूचना बैंकमा सर्च गर्दा हुन्छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारीता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिनुभयो । ‘यो सूचना बैंकको उपयोग पत्रकार र आम नागरिकले भरपुर रुपमा प्राप्त गर्न सक्नुहुनेछ’ सचिव भुजेलले भन्नुभयो ‘ वाग्मती प्रदेशमा बनेको यो सूचना बैंक अरु प्रदेशका लागि पनि सिक्न लायक नमूना हुन सक्छ ।’
वाग्मती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु पर्दैन, सूचना बैंकको पोर्टलमा सर्च गर्दा ती १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ । सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार नेपालमा पहिलो पटक बनेको सूचना बैकको पोर्टलबाट अहिले वाग्मती प्रदेशका १४ वटै कार्यालयका सूचना वा दस्तावेजहरु डाउनलोड गर्न सकिन्छ ।
गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना बैंकमा संग्रहित गराइएको छ ।