काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री र सांसदहरुले यो पटकको मन्त्रिपरिषद्मा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङलाई नछुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा प्रदेश सांसदहरुले वाग्मतीमा माओवादी केन्द्रका सिनियर नेता र अवसर पनि कम पाएका संघीय सांसद तामाङलाई मन्त्रिपरिषद्मा समेट्न सामूहिकरुपमा आग्रह गरेको छलफलमा सहभागी एक नेताले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले 'ठीक छ, सल्लाह गर्छौं,' भन्ने जवाफ दिएको उहाँको भनाइ छ ।
नवनिर्वाचित वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, तत्कालीन प्रदेश उपसभामुख एवं नुवाकोटबाट निर्वाचित सांसद राधिका तामाङ, सिन्धुपाल्चोकबाट निर्वाचित युवराज दुलाल, रसुवाबाट निर्वाचित इन्द्र गौतम, मकवानपुरबाट निर्वाचित सांसद कुमारी मोक्तानलगायत प्रधानमन्त्री प्रचण्डकहाँ पुग्नुभएको थियो ।
दुई पटक प्रत्यक्षरुपमा नुवाकोटबाट निर्वाचित सांसद तामाङले २०६६ मा छोटो अवधि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । ४३ वर्षदेखि माओवादीमा सक्रिय राजनीति गरिरहनुभएका तामाङलाई यस पटक अवसर दिइनुपर्ने पार्टीभित्र तीव्र दबाब बढाइएको छ । सांसद तामाङलाई मन्त्रिपरिषद्मा लगिएमा संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको पनि एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सकभर शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । सोही तयारीस्वरुप उहाँले बुधबार साँझ सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको बुझिएको छ । सत्ता साझेदार दलबीच भागबन्डाका लागि बिहीबार दिउँसो गठबन्धन दलहरुको बैठक पनि बोलाइएको छ ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ११ गते पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको थियो । सोही दिन ३ उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसक्नुभएको छ । उहाँलाई संसद्मा ९९ प्रतिशत सांसदले मतदान गर्नुभयो ।