घलेभञ्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ ।
गाउँ कार्यपालिकाको अस्थायी कार्यालय घलेभन्ज्याङमा शुक्रबार आयोजित खेलाडी सम्मान कार्यक्रममार्फत खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष, सीता खड्का पराजुली, वडाध्यक्षहरुलगायतले सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा 'आरोग्यता र समृद्धिका लागि खेलकुद भन्ने' मूल नाराका साथ गत वर्षको चौथौ दुप्चेश्वर कपमा सहभागी भइ प्रथम स्थान हासिल गर्नुभएका पञ्चकन्या गाउँपालिका सम्पूर्ण भलिबल, खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकहरू रहेका गाउँपालिका रोजगार संयोजक सरोजकुमार खातीले जानकारी दिनु भयो ।
उहाँका अनुसार खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक गरी झन्डै डेढ दर्जन बढीलाई उच्च कदरका साथ प्रतिव्यक्ति ४० हजार राशिको चेकसहित सम्मान गरिएको हो ।
कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, लेखा अधिकृत रामहरि न्यौपाने, प्रशासकीय अधिकृत मंगल विष्ट, स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतो, रोजगार संयोजक सरोज खाती, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
