काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएसँगै मंगलबार मन्त्रीहरुको शपथग्रहण हुने भएको छ । मंगलबार दिउँसो १ बजे शपथग्रहण हुने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उहाँले बताएनुभयो ।
उहाँले भन्नुभयो, “कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर मंगलबार आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ ।” आज मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।
प्राप्त जानकारी अनुसार एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
माओवादी : भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन
रास्वपा : गृह, शिक्षा र श्रम
राप्रपा : उर्जा, सहरी विकास र युवा तथा खेलकुद
जनमत : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीको चित्त बुझाउनलाई यी माथिका भागबन्डामा हेरफेर हुन सक्ने बताइएको छ । यसअघिको भागबन्डाअनुसार राष्ट्रपति एमाले, उपराष्ट्रपति माओवादी केन्द्र, सभामुख एमाले, उपसभामुख : राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने भनिएको छ । तर, प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादीबीच आलोपालो हुने सहमति रहेको छ ।