काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नु हुने भएको छ ।
भोजपुरबाट लगातार तेस्रो पटक चुनाव जित्नु भएका किराँतीलाई अहिलेको मन्त्रिपरिषद्मा पठाउने विषयमा लगभग टुंगो लागेको माओवादी स्रोतले जनाएको छ । सांसद किराँतीले पनि मन्त्री बन्ने पुष्टि सामाजिक सञ्जालमार्फत गर्नुभएको छ ।
माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो ।
सत्ता गठबन्धनमा भएको भागबन्डमा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसक्नुभएको छ । सञ्चारमन्त्रीमा दाङ २ बाट निर्वाचित रेखा शर्माको नाम पनि लगभग टुंगिसकेको बताइएको छ । अर्को एक जनाको माओवादीले टुंग्याउनुपर्ने छ ।
मन्त्री बन्ने पुष्टि गर्नुहुँदै सांसद किराँतीले सामाजिक सञ्जालमा लेख्नुभएको सन्देश ।
डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी !
मैले भने ।
म - बुवा म मन्त्री हुने भएँ छु ।
बुवा - हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म - हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा - मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म - पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो ।
बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म - म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ......... ।
बुवा- हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म - पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए ...... ।
बुवा - म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ......... !
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।