काठमाडौं । ईटहरी ग्लोबल आई हस्पिटलले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत खोप लिने सम्पूर्ण बालबालिकाहरुले अनिवार्य आँखा जाँच गराउने कार्यक्रम अघि सारेको छ । आई हस्पिटल र वरिष्ठ आँखा रोग विशेषज्ञ डा वेन लिम्बुको नेतृत्वमा सुरु गरिने आँखा जाँच कार्यक्रम खोप प्रदायक स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी 'सामुदायिक बालबालिका आँखा कार्यक्रम पाठ्यक्रम विकास कार्यशाला' अवधारणालाई अगाडि सारिएको हो ।
नवजात शिशुदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई नियमित खोप लगाउँदा प्रदायक स्वास्थ्यकर्मीहरुबाटै आँखा परीक्षण गराउन पाठ्यक्रम आवश्यक परेकोले शनिबार काठमाडौंको हयात होटलमा सामुदायिक बालबालिका आँखा कार्यक्रम राष्ट्रिय पाठयक्रम विकास कार्यशाला आयोजना गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
कार्यशालाबाट पाठ्यक्रम विकासका लागि आँखा विशेषज्ञ र बालबालिका आँखा विशेषगरी ३५ जना, अप्टोमेट्रिष्ट १२ जना, १ जना अर्थोप्टिस्ट, नेत्र सहायक १५ जना, ३ जना स्वास्थ्य शिक्षाविज्ञ, इटहरी उपमहानगरपालिका स्वास्थ्य संयोजक र ईमरजेन्सी प्रमुख २ जना, इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस प्रतिनिधि साथै जनस्वास्थ्य विज्ञसहित जम्मा ७४ जनाको राष्ट्रिय टोली गठन गरिएको छ ।
कार्यशालाबाट बनाइएको पाठ्यक्रम प्रारम्भिक चरणमा इटहरी उपमहानगरपालिकाका सम्पूर्ण स्वास्थ्य खोप केन्द्रहरुबाट सुरुवात गरिने डा लिम्बुले बताउनुभयो । नवजात शिशु र बालबालिकाको नियमित आँखा परीक्षण अत्यन्त आवश्यक कदम भए तापनि प्राथमिकता नदिँदा बालबालिकाको आँखाको समस्या ढिला पत्ता लाग्ने र जसले गर्दा नेपालमा बालबालिकाहरु सदाका लागि दृष्टिविहीन वा न्युनदृष्टिबाट पीडित हुन परिरहेको छ ।
आँखा जाँच कार्यक्रमले बालबालिकालाई दृष्टिविहीन हुनबाट जोगाउने डा लिम्बुको विश्वास छ । सुरुवातको अवस्थामा यो कार्यक्रम इटहरी उपमहानगरपालिकामा लागू गर्ने र त्यसपछि विस्तारै प्रदेश हुँदै देशभर नै लागू गरिने आयोजक संस्थाले बताएको छ ।
विश्वभर अनुमानित १४ लाख बालबालिकाहरु विभिन्न आँखा रोगहरुका कारणबाट अन्धोपनको सिकार बनिरहेका छन् । कुल बालबालिका अन्धोपनमध्ये ७५ प्रतिशत बालबालिकाहरु एसिया तथा अफ्रिकी मुलवासी भएको पाइएको छ । नेपालमा गरिएको एक अनुसन्धानअनुसार १० वर्षसम्मका बालबालिकाहरुमा अन्धोपनको प्रमुख कारण अल्छी आँखा, मोतीबिन्दु र आँखा नानीको दाग देखिन्छ ।
विश्वभर ५ वर्षसम्मका बालबालिकाहरुमा अन्धोपनका प्रमुख कारणहरु मोतीबिन्दु, जलबिन्द, रेटिनोपेथी अफ प्रिमेचुरेटी र कुपोषणले आँखामा हुने समस्याहरु पर्दछन् भने दृष्टिदोष र अल्छी आँखा न्यूनदृष्टीको मुख्य कारक हुन् । यी बाहेक बालबालिकाहरुमा देखा पर्ने रेटिनोब्लास्टोमा र र्याब्डोमायोमा जस्ता आँखा क्यान्सरहरु समयमै पहिचान नहुँदा अन्धोपन साथै ज्यानै गुमाउने उच्च जोखिम रहन्छ ।
बालबालिकाहरुलाई समुदायस्तरमा नियमित आँखा स्क्रिनिङ परीक्षण गर्न सके, बालबालिकाहरुमा आउन सक्ने विभिन्न आँखा समस्या समयमै पत्ता लगाई प्रभावकारी उपचार गर्न सकिने र सम्भावित बालबालिका अन्धोपनबाट रोक्न सकिन्छ । कार्यक्रमको मुख्य लक्ष्य मुख्य कुरा त बालबालिकाहरुले जन्मे अवस्थामा आँखा नदेख्ने तर जन्मपश्चात् भने क्रमशः दृष्टि विकास हुँदै ६–७ वर्षको उमेरभित्रै दृष्टिको पूर्ण विकास भइसक्ने गर्दछ ।
तसर्थ जन्मदेखि ७ वर्षसम्मको समय बालबालिकाहरुको दृष्टि विकास निर्धारणको हिसाबले एकदमै महत्वपूर्ण समय मानिन्छ । यस अवधिमा आँखामा कुनै समस्या आइपरे दृष्टि विकासमा अवरोध हुन गई बालबालिकाहरुमा सदाका लागि दृष्टिमा कमी वा दृष्टीविहीन हुन सक्दछ । त्यसैले बालबालिकालाई खोप लगाउँने समयमा आँखा जाँच गर्दा आँखामा भएको समस्याको समयमा नै पहिचान पछि उपचार हुँदा नेपालका हजारौं बालबालिका दृष्टिविहीन हुनबाट बच्न सक्छन् भने आँखामा भएका अन्य रोगको पनि उपचार हुदा आँखाको रोगबाट बच्न सकिने आई हस्पीटलको भनाइ छ ।
अभिभावकहरुमा बालबालिकाको आँखामा पनि समस्या हुन्छ, परीक्षण गर्नुपर्छ भन्ने जनचेतना कमी, समस्या भएमा ठम्याउन मुस्किल र बालबालिकाको आँखामा भएको समस्या व्यक्त गर्न नसक्ने कारणहरुले गर्दा आँखा समस्या पहिचानमा ढिलो हुनाले बालबालिकाहरु प्रभावकारी उपचार लाग्ने समय सीमा बितेपछि जीवनभर दृष्टिविहीन वा न्युनदृष्टि हुने गरेको छ ।
यतिमात्र नभई नवजात शिशु र बालबालिकाहरुमा आउन सक्ने आँखा क्यान्सर रोग समयमा पत्ता नलागे बच्चाहरुको ज्यानै समेत जाने उच्च जोखिम हुने गर्दछ । विश्वका विकासित मुलुकहरुमा बालबालिकाहरुको निर्धारित समयमा नियमित आँखा परीक्षण हुने हुनाले बालबालिकाहरुमा अन्धोपना र न्यूनदृष्टीका सम्भावित जोखिम न्यून रहेको तथ्याङ्कले प्रमाणित गरेको पाइन्छ ।
तर हालसम्म नेपालमा नवजात शिशुदेखि ५ वर्षसम्मका बालबालिकाहरुको कुनै ठोस आँखा जाँच प्रणाली नभएकोले बर्सेनी धेरै बालबालिकाहरु दीर्घ आँखा रोग साथै अन्धोपना र न्यूनदृष्टिबाट ग्रसित हुन बाध्य छन् । ईटहरी ग्लोबल आई हस्पिटल इटहरी उपमहानगरपालिका वडा नं ६, धरान रोड अवस्थित आँखा अस्पताल २०७६ सालबाट सञ्चालनमा छ, सुरुवाती अवस्थाबाटै यस अस्पतालले आँखामा गुणस्तरीय स्वास्थ्य शिक्षा, जनचेतनामूलक कार्यक्रम, निदात्मक, उपचारात्मक र पुनस्थापना साथै निःशुल्क आँखा शिविर कार्यमा उल्लेखिनीय योगदान प्रदान गर्दै आएको छ ।
हाल इटहरी उपमहानगरपालिकामा बर्सेनि ३५ सयदेखि ४ हजार नवजात शिशुहरु राष्ट्रिय खोप कार्यक्रमबाट नियमित खोप लिने गर्दछन् ती बालबालिकालाई आँखा कार्यक्रममा समावेश गर्न सकेमा भोलिका दिन आँखामा आउने ठूला अथवा साना खालका समस्याबाट बालबालिका जोगिन सक्ने भएकाले आँखा जाँच कार्यक्रम आई हस्पिटलले अघि सारेको वरिष्ठ आँखा रोग विशेषज्ञ डा लिम्बु बताउनु हुन्छ ।